आकर्षक प्रहरी भवनभित्र छैनन् आवश्यक सामाग्री`


मेचीकाली

काभ्रे– केही महिना अघि मात्रै भौगोलिक रुपमा विकट मानिने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ फलामेटारमा प्रहरी चौकी फलामेटारको चिटिक्कको पक्की भवन निर्माण भएको छ । प्रहरी चौकी फलामेटार मात्रै पछिल्लो समय जिल्लामा एक दर्जन प्रहरी कार्यालयका नयाँ भवन निर्माण भएका छन् । प्रहरी चौकीका लागि पक्की चिटिक्कको भवन बनेपनि कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम सामाग्रीहरु समेत व्यवस्थापन गर्न नसक्दा नयाँ भवनका कोठाहरु खाली जस्तै देखिएका छन् ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय काभ्रे मातहत रहेका प्रहरी चौकीको भवन निर्माण गर्ने काम तिव्र रुपमा अघि बढाएको छ । प्रदेश सरकारले भवन निर्माण गरिदिएपनि भवन भित्र कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कुर्सी, टेलबलगायतका सामाग्रीहरुको व्यवस्था गर्न नसक्दा भवनहरु खाली देखिएका छन् । प्रहरीसँग पर्याप्त मात्रामा स्रोत, साधन नभएका कारण भवनका लागि आवश्यक पर्ने कुर्सी, टेबल, सोफा र झ्यालमा हालिने पर्दा समेत नगरपालिका, गाउँपालिका वा कुनै सहयोगी संघसंस्था र व्यक्तिबाट सहयोग लिनुपर्ने बाध्यता रहेको छ ।
‘आवश्यकता अनुसार भाडामा बसेका प्रहरी चौकीहरु आफ्नै भवनमा बस्नको लागि पक्की भवन निर्माण हुनु राम्रो कुरा हो’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँले नयाँ भवन निर्माण भएसँगै भवनका लागि आवश्यक पर्ने सामाग्रीहरु समेत व्यवस्था गर्न सकिएको खण्डमा प्रहरीलाई सेवा प्रवाह गर्न थप सहजता हुने बताउनुभयो । उहाँले नयाँ निर्माण भएका भवनहरुमा आवश्यक पर्ने सामाग्रीहरुको लागि स्थानीय तहहरुसँग सहयोग माग गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
प्रदेश सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय काभ्रे मातहत रहेका ईलाका प्रहरी कार्यालय बनेपा, ईलाका प्रहरी कार्यालय कात्तिकेदेउराली, ईलाका प्रहरी कार्यालय गोकुल, ईलाका प्रहरी कार्यालय देविटार, प्रहरी चौकी फलाँटे, प्रहरी चौकी चौबास, प्रहरी चौकी फलामेटारको भवन निर्माण सम्पन्न भएको छ । नयाँ निर्माण गरिने भवनसँगै भवनको सुरक्षाको लागि आवश्यक पर्ने कम्पाउण्ड पर्खाल तथा चौकीमा आउने सेवाग्राही बस्ने यात्रु प्रतिक्षालय समेत निर्माण गर्नुपर्ने जरुरी देखिएको छ । सम्बन्धित निकायहरुले भवन निर्माणका साथै प्रहरी कार्यालयहरुका लागि आवश्यक पर्ने न्यूनतम सामाग्रीहरुको व्यवस्था गर्न सकेको खण्डमा प्रहरीले उच्च मनोबलका साथ काम गर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया



थप समाचारहरु