काभ्रे– नयाँ आर्थिक वर्षको बजेट बाँडफाँडमा चरम बेथति देखाएको बागमति प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्य हुन लाग्दा विभिन्न योजनाको नाममा बजेट विनियोजन गरेको पाइएको छ । प्रदेश सरकार अन्र्तगतको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत कार्यान्वयन गर्नका लागि झण्डै एक दर्जन नयाँ योजनामा बजेट विनियोजन गरेको हो ।
सामाजिक विकास मन्त्रालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि चालु आवमा नै काम कार्यान्वयन तथा समापन गर्नका लागि विभिन्न नौ वटा योजनामा बजेट विनियोजन गरेको हो । मन्त्रालयले सामाजिक विकास कार्यालयमार्फत कार्यान्वयन गर्नका लागि काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा रहेको अरुणोदय माविको भवन निर्माणको लागि २० लाख रुपियाँ विनियोजन गरेको हो । यस्तै जिल्लाकै नमोबुद्ध नगरपालिकामा रहेको बाल उज्वल माविको विद्यालय पूर्वाधार शिर्षकमा २० लाख रुपियाँ, सिन्धुपाल्चोकेको जुगल गाउँपालिकामा सम्बन्धित संस्थाको लागि भन्दै पाँच लाख, सरस्वती मावि बाह्रबिसे खेलमैदानको लागि २० लाख, बाल शिक्षा मावि बलेफीको लागि १० लाख रकम विनियोजन गरेको हो । त्यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको रामेश्वर मावि घेराबारका लागि सात लाख, ढाडे कालिकादेवी सामुदायिक भवन दोलखा सैलुङका लागि ३० लाख, सेतीदेवी मावि दोलखा भिमेश्वरको खेलमैदानको लागि २० लाख, र मन्थली मावि रामेछापको हल निर्माणको लागि भन्दै २० लाख रुपियाँ रकम विनियोजन गरेको हो ।
मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा यसै आवभित्रै योजना कार्यान्वयन गर्न भन्दै सातदेखि ३० लाख रुपियाँसम्म वजेट विनियोजन गर्दै योजना सम्बन्धित कार्यालयमा पठाएसँगै योजना कार्यान्वयनका लागि भन्दै चौतर्फी दवाव समेत आउन थालेको छ । आर्थिक वर्षको आर्थिक कारोबार सकिन दुई साताको समयावधि मात्रै बाँकी रहँदा ती योजना कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा कार्यालयमा अन्यौलता देखिएको छ । चालु आवका लागि छुट्याइएका अन्य योजनाको कार्य सम्पन्न गर्ने र सम्पन्न भएका योजनाको प्राविधिक प्रतिवेदनलगायतका कामहरु गर्नुपर्ने भएकोले आवको अन्त्यमा छुट्याइएको योजनामा काम गर्न नसक्ने अवस्था रहेको सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यता सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी चन्द्रबहादुर श्रेष्ठले मन्त्रालयले नयाँ योजनामा नभई यसै आवमा कार्यान्वयनमा रहेका योजनामा मात्रै बजेट थप गरिएको दावी गर्नुभयो । “हामीले यसै आवमा कार्यान्वयनमा गएका र बजेट अपुग भएर बजेट थप माग गरेका योजनामा मात्र बजेट थप गरेका हौँ, नयाँ योजना हैनन” श्रेष्ठले भन्नुभयो । उहाँले बजेट थप भएका योजनामा सम्बन्धित कार्यालयले काम गर्न सक्ने वा नसक्ने भन्ने निक्यौल गरेर सक्ने भए कार्यान्वयनमा लैजाने र नसक्ने अवस्था रहेको खण्डमा सुरु नगर्ने बताउनुभयो ।
मन्त्रालयले हालै विनियोजन गरेको योजना र बजेटमा काम गर्नका लागि कार्यालयका प्राविधिकहरु कार्य क्षेत्रमा नै गएर योजनाको प्राविधिक स्टिमेट तयार गर्नुपर्ने लगायतका कामहरु गर्नुपर्ने भएकोले १० दिनभित्र यी काम गर्न सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । यसैबीच मन्त्रालयले जेठ मसान्तमा गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त विद्यालय भवनको लागि अस्थायी सिकाई केन्द्र (टिएलसी) लगायतको काम गर्न भन्दै डेढ करोड रुपियाँ बजेट विनियोजन गरेपनि आर्थिक वर्षको अन्त्यमा बजेट पठाएको भन्दै कार्यालयले उक्त रकमको काम गर्न सकेको छैन ।