यस्तो छ नमोबुद्ध नगरको प्रगति विवरण


मेचीकाली

काभ्रे-नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४२ करोड ९९ लाख ५७ हजार ८९६ रुपैयाँ खर्च गर्दै कुल बजेटको करिब ५३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दोस्रो नगरसभाको नवौं अधिवेशनमा प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि ८० करोड ७३ लाख २३ हजार १६० रुपैयाँको बजेट स्वीकृत भएको थियो। प्रतिवेदन तयार गर्दासम्म ६४ करोड ९१ लाख ९९ हजार ४३२ रुपैयाँ आम्दानी भएको र त्यसमध्ये ४२ करोड ९९ लाख ५७ हजार ८९६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

नगरपालिकाले आन्तरिक राजस्व संकलन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले वृद्धि भएको जनाएको छ। महिला उद्यमीको स्वामित्वमा उद्योग तथा फर्म दर्ता गर्दा पूर्ण शुल्क छुट दिने व्यवस्थाबाट ३३ वटा महिला स्वामित्वका व्यवसाय दर्ता भएका छन् भने कुल ८४ नयाँ व्यवसाय दर्ता भएका छन्। नगरपालिकाले दोस्रो कार्यकालमा हालसम्म ३० वटा कानुन निर्माण, ६१ वटा कार्यपालिका बैठक तथा आठ वटा नगरसभा सम्पन्न गरेको जनाएको छ।

पूर्वाधारतर्फ संघीय र प्रदेश सरकारका अनुदानबाट सञ्चालित अधिकांश योजना अन्तिम चरणमा पुगेका छन्। नगरस्तरीय २५ योजनामध्ये १५ वटा सम्पन्न भइसकेका छन् भने १० वटा अन्तिम चरणमा छन्। वडास्तरीय ९४ योजनामध्ये ६७ वटा सम्पन्न भएका छन्। जनक माध्यमिक विद्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको सिभिल संरचना लगभग सकिएको नगरपालिकाले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा नमोबुद्ध नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप तथा दिगोपना घोषणा गरिएको पालिका बनेको छ। चालु वर्ष १८४ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ। पाठेघरको मुखको क्यान्सर परीक्षण, गर्भवती महिलाको भिडियो एक्सरे, क्षयरोग पहिचान, घरदैलो स्वास्थ्य सेवा, एचपीभी खोप अभियानलगायत कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

सामाजिक सुरक्षातर्फ ४ हजार २०० लाभग्राहीमध्ये ९० प्रतिशतभन्दा बढीको बायोमेट्रिक प्रमाणीकरण सम्पन्न भएको छ। घरमै पुगेर भत्ता वितरण सेवाबाट एक हजार ७९९ ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राही लाभान्वित भएका छन्।

शिक्षा क्षेत्रमा नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार भएको, स्थानीय पाठ्यसामग्री निर्माण अन्तिम चरणमा पुगेको, दुई विद्यालय गाभिएको तथा चार विद्यालय स्थगन गरिएको जनाएको छ। विद्यालयको नियमित अनुगमन, शिक्षक क्षमता विकास तथा सूचना प्रविधि तालिमसमेत सञ्चालन गरिएको छ।

कृषितर्फ ५१७ मिनी टिलर, १६२ प्लास्टिक टनेल, ४२ स्प्रे ट्यांकी, ६३ प्लास्टिक क्रेट, पाँच प्लास्टिक पोखरी वितरण गरिएको छ भने ४ हजार ७५३ कृषक किसान सूचीकरण प्रणालीमा आबद्ध भएका छन्।

पशु सेवातर्फ ३ हजार २६२ पशुमा कृत्रिम गर्भाधान, एक हजार २६३ पशुको बीमा, १९० सामुदायिक कुकुरको बन्ध्याकरण, ५५० कुकुरलाई रेबिजविरुद्धको खोप तथा १३ हजारभन्दा बढी पशुको उपचार गरिएको प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाले पाँच वटा वडालाई बालमैत्री वडा घोषणा गरेको छ भने दुई वडा घोषणाको अन्तिम चरणमा पुगेका छन्। विपद्बाट प्रभावित ६३१ परिवारलाई पहिलो किस्ता र ४४१ परिवारलाई दोस्रो किस्ताबापत अस्थायी आवास अनुदान वितरण गरिएको छ।

न्यायिक समितिले चालु वर्ष दर्ता भएका २२ उजुरीमध्ये १७ वटा फैसला गरेको जनाएको छ। सहकारी, रोजगार, मनोसामाजिक परामर्श, भवन नक्सापास, भूमिसम्बन्धी सेवा, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा बेरुजु फर्छ्योटमा पनि उल्लेखनीय प्रगति भएको नगरपालिकाको दाबी छ।

नगरपालिकाले अपेक्षित राजस्व तथा वित्तीय हस्तान्तरण प्राप्त हुन नसकेका कारण सम्झौता भई कार्यान्वयनमा रहेका केही योजना आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट व्यवस्थापन गरी भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गिरीले उपलब्ध स्रोत र आम्दानीका आधारमा समग्र वित्तीय तथा भौतिक प्रगति सन्तोषजनक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया



थप समाचारहरु