राष्ट्रपति रामचन्द्र पौडेल पलाञ्चोकमा


मेचीकाली

काभ्रे– राष्ट्रपति रामचन्द्र पौडेल काभ्रेको प्रशिद्ध धार्मिकस्थल पलाञ्चोक पुगेका छन् । उनले आज बिहान काभ्रेको पाँचखाल नगरपालिका–९ पुगेर पलाञ्चोक भगवतीको दर्शन गरेका छन् ।

 पौडेलले राष्ट्रपतिको हैसियतमा पहिलो पटक पलाञ्चोक भगवतीको दर्शन गरेका हुन् । गणतन्त्र आएसँगै राष्ट्रप्रमुखहरु प्रत्येक वर्ष महाअष्टमीको दिन पलाञ्चोक आउने प्रचलन रहेको छ ।

पलाञ्चोक भगवतीको दर्शनका लागि राष्ट्रपति पौडेल श्रीमती सविता पौडेलसहित आएका थिए । नेपाली सेनाको हेलिकप्टर मार्फत पाँचखालस्थित बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आएका पौडेल तालिम केन्द्रबाट नौ किलोमिटर कार्गेडमार्फत पलान्चोक भगवती मन्दिर पुगेका थिए । पौने ९ बजे मन्दिर पुग्नु भएका राष्ट्रपति पौडेल सवा नौ बजे दर्शन गरी फर्केका छन् ।

पलाञ्चोक भगवती मन्दिर पुग्नु भएका राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम, पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, उपप्रमुख सूर्यमाया दनुवार, पाँचखाल नगपालिका ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठसहित वडा नम्बर ३ का अध्यक्ष सुन्दर अधिकारी, ४ का सुन्दर लामा, वडा ७ का रामशरण दंगाल, १२ का ज्ञानबहादुर दनुवार र वडा नम्बर १३ का सुकविर तामाङलगायतका जनप्रतिनिधीले स्वागत गरे । पछिल्ला केही वर्षदेखि राष्ट्र प्रमुखको हैसियतामा राष्ट्रपतिले महाअष्टमीको दिनमा पलाञ्चोक भगवतीको दर्शन गर्ने काम भएको मन्दिरका पुजारी रविन्द्र बज्राचार्यले बताए ।

 यसअघि पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि राष्ट्र प्रमुखको हैसियतले वि.सं. २०७४, २०७५, २०७६, २०७८ र २०७९ सालसम्म पाँच पटक पलान्चोक भगवतीको दर्शन गरेकी थिइन् । पलाञ्चोक भगवतीलाई भवगतीहरुको जेठी दिदिको रुपमा पुजिँदै आएको छ । 




प्रतिक्रिया



थप समाचारहरु