काभ्रे — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर काभ्रेको बनेपामा छात्रा विद्यार्थीहरूको नेतृत्व विकास तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘प्रोजेक्ट शिफ्ट’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम Secondbench को आयोजनामा तथा बनेपा नगरपालिका र CQ University Australia को सहकार्यमा सञ्चालन गरिएको हो ।
विद्यालय तहमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । करिब १५ घण्टासम्म चल्ने प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रमार्फत कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
आयोजकका अनुसार ‘प्रोजेक्ट शिफ्ट’ कार्यक्रमको मुख्य उद्देश्य छात्रा विद्यार्थीहरूलाई समाजमा विद्यमान विभिन्न सामाजिक समस्या र चुनौतीबारे जानकारी गराउनुका साथै ती समस्याको समाधान खोज्ने प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउनु हो । कार्यक्रम अन्तर्गत सहभागी विद्यार्थीहरूलाई सामाजिक मुद्दाको पहिचान, समस्या विश्लेषण, आलोचनात्मक सोच तथा सम्भावित समाधानका उपायबारे प्रशिक्षण दिइनेछ ।
कार्यक्रममा समूहगत छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्यासका माध्यमबाट विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराइने जनाइएको छ । यसबाट विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्वप्रति संवेदनशीलता बढ्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
क्भअयलमदभलअज का प्रतिनिधिहरूले विद्यालय तहबाटै नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न सके भविष्यमा सक्षम, जिम्मेवार र सचेत महिला नेतृत्व तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको छ ।
कार्यक्रममा सहभागी छात्रा विद्यार्थीहरूले पनि यस्तो अवसरले सामाजिक विषयमा आफ्नो बुझाइ विस्तार गर्न मद्दत पुगेको बताएका छन् । उनीहरूले सामाजिक समस्या पहिचान गर्ने, त्यसबारे खुला रूपमा छलफल गर्ने तथा आफ्ना विचार र समाधान प्रस्तुत गर्ने अवसर पाएको अनुभव सुनाएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रमले किशोरीहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ । साथै, विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारीबोधका साथ सक्रिय नागरिकको रूपमा विकास गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।