बनेपा- नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले काभ्रे जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने एउटा विशेष अभियानको शुरुवात गरेको छ ।
आइतबार बनेपामा आयोजित एक कार्यक्रमका बीच वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले निःशुल्क रगत उपलब्ध गराउन अक्षयकोष स्थापनार्थ रकम संकलन अभियानको घोषणा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जहाँ दुःख त्यहाँ रेडक्रस भनेझैं नागरिकलाई विभिन्न समयमा आएका दुःखमा रेडक्रसले अभिभावकत्व लिएर सहयोग गरेको चर्चा गर्नुभयो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपत्तीमा रेडक्रसले निकै सहयोग गरेको स्मरण गर्दै उहाँले पछिल्लो पटक काभ्रे शाखाले थालेको अभियान निकै उपयोगी रहेको उल्लेख गर्नुभयो । उहाँले यस अभियानमा प्रदेश सरकारले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अक्षयकोष खडा गर्ने अभियान सबै जिल्ला शाखाले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
रेडक्रसका सात सिद्धान्तहरुमा आधारित रहेर देशभर रहेका रेडक्रसकर्मी, जुनियर रेडक्रस, युवा रेडक्रस सर्कललगायतले गरिरहेका सामाजिक कामलाई निरन्तरता दिँदै अघि बढ्न उहाँले अनुरोध गर्नुभयो । यसअघि पनि वागमती प्रदेश सरकारले १३ वटै जिल्लाका शाखाहरुलाई सहयोग गर्दै आएको र बिरामीलाई दिइएको रगत निःशुल्क उपलब्ध गराउँदै त्यसमा लाग्ने खर्च प्रदेश सरकारले बेहोरिरहेको उल्लेख गर्नुभयो । रेडक्रसमा लागेका व्यक्तिहरु कुनै पनि दल वा पेशाप्रति लक्षित हुन नहुने बताउँदै उहाँले स्वतन्त्ररुपमा काम गरेमा सबैबाट सहयोग पाइने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभियानको सफलताको शुभकामना दिँदै काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रेडक्रसको अभियान एकदमै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आवश्यक परेमा जुनसुकै सहयोग गर्न जिल्ला प्रशासन तयार रहेको बताउँदै विशेषगरि विपद्को समयमा रेडक्रसको भूमिका पवित्र रहने गरेको उल्लेख गर्नुभयो । उहाँले सबैले यस अभियानमा सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसको अभियानमा बनेपा नगरपालिका पनि साथमै रहेको बताउनुभयो । उहाँले विगतमा पनि बनेपाले रेडक्रसलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने जानकारी दिनुभयो । पछिल्लो पटक रेडक्रसले शुरु गरेको अभियान निकै राम्रो भए पनि दुई करोडको अक्षयकोषबाट आउने ब्याजले जिल्लाभरीलाई निःशुल्क रगत दिन नपुग्ने भन्दै यसमा पुनर्विचार गरि बृहत कार्यक्रम गर्न सुझाव दिनुभयो । यसका लागि नगरपालिका सहयोगका लागि सधैं तयार रहेको पनि उहाँको प्रतिबद्धता थियो । साथै व्यक्तिगतरुपमा ५० हजार नगद सहयोगको घोषणा पनि गर्नुभयो ।
यस अभियानमा न्यूनतम दुई करोड संकलन गरि अक्षयकोष खडा गर्ने र त्यसबाट आउने ब्याजबाट जिल्लाभर रगतको अभाव हुन नदिन कार्यक्रम गरिने लक्ष्य रहेको रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले जानकारी दिनुभयो । अभियान अन्तर्गत करिब ५० जना व्यक्ति र संघसंस्थाले सहयोगको घोषणा गरिसकेको र केहीले रकम पनि उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो । आफूले पनि यस अभियानमा ५५ हजार ५५५ नगद सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा रेडक्रसका उपशाखाका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा रेडक्रसलाई विभिन्न समयमा विभिन्न शीर्षकमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।