काभ्रे–विपी राजमार्गअन्तर्गत काभ्रेको रोशीको बाढीमा फसेका यात्रुहरुको मध्यरातमा उद्धार गरिएको छ । सोमबार साँझदेखि अलपत्र अवस्थामा परेका ८९ जनाको राती १ः३० बजे उद्धार गरिएको हो ।
पाँचवटा माइक्रोबसमा ८९ जना यात्रुहरु रोशी ७ को लास्कोट र घुमाउनेको बीचमा फसेका थिए । उनीहरुलाइए नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । उद्धारपछि सबै यात्रुलाई बसको व्यवस्था गरेर काठमाडौं पठाइएको थियो । बीचमै फसेका सवारीसाधानलाई सुरक्षित स्थानमा राखिएको छ ।
ती सवारीसाधनहरु प्रहरीले रोक्दारोक्दै जबर्जस्ती अघि बढेका थिए । यात्रुहरुको उद्धारलगत्तै प्रहरीले लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाएको भन्दै पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।