काभ्रे–यही चैत ७ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परिक्षा एसईईको तयारी काभ्रेपलाञ्चोकमा पुरा भएको छ । परिक्षाको तयारी पुरा भएसँगै परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउनका लागि सरोकारवाला निकाय एक हुनुपर्नेमा जोड दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले आज धुलिखेलमा एसइई केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रमका अतिथी तथा सहभागिहरुले एसइईलाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पछिल्ला वर्षहरुमा विगतको एसएलसी परीक्षामा जस्ता गतिविधिहरु नहुने गरेको बताउनुभयो । उहाँले एसएलसीको समयमा जस्तो पछिल्ला एसइईमा गतिविधि नहुनुमा बिद्यार्थीको सङ्ख्या कम हुनु र आम नागरिकमा परीक्षाको विषयमा सचेतना फैलिएका कारण परीक्षामा हुने गतिविधिमा कमी आएको बताउनुभयो । उहाँले परीक्षाको अनुगमन गर्ने क्रममा बाहिरबाट हेर्दा परीक्षा शान्तिपूर्ण र राम्रो देखिएपनि नतिजा कमजोर आउँदा परीक्षाको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको बताउनुभयो । उहाँले सामुदायिक बिद्यालयमो नतिजा कमजोर हुँदै गएको बताउँदै त्यसको सुधारका लागि सबैले आफ्नो क्षेत्रबाट शिक्षाको स्तर सुधार गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले एसइईलाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थी सबैको भूमिका हुने बताउनभुयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एसइईलाई मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थीका साथै समाजको समेत भूमिका हुने बताउनुभयो । उहाँले परीक्षा हलको वातावरणले पनि बिद्यार्थीलाई पढ्ने की नपढ््ने भन्ने विषयको निर्धारण गर्ने बताउनुभयो । “परीक्षामा कडाइ भएको छ भने बिद्यार्थीले भोलिपल्टका परीक्षाका लागि पढेर राम्रो तयारी गर्छन् भने परीक्षा खुकुलो भएको खण्डमा परीक्षामा कडाइ छैन किन दुःख गर्नु भनेर नपढ्ने अवस्था हुन्छ” प्रजिअ ढकालले भन्नुभयो ।
उहाँले परीक्षामा मोबाईल फोनको प्रयोगका कडाइ गर्न निर्देशन दिनुहुँदै परीक्षामा अमर्यादित गतिविधि हुने सबैलाई कारवाहि गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले एसइईका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी परिचालन गरिने बताउनुभयो । उहाँले प्रश्नपत्रको ढुवानी, भण्डारण गर्ने, परीक्षा केन्द्रमा पु¥याउने र परीक्षाको उत्तरपुस्तिकाको सुरक्षा, भण्डारणलगायतको क्षेत्रमा प्रहरी खटिने बताउनुभयो । उहाँले परीक्षामा सुरक्षा दिनका लागि प्रहरी तयारी अवस्थामा रहेको बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा इकाई प्रमुख देवका ढकालले एसइईलाई मर्यादित बनाउनका लागि कुनै एउटा निकायले मात्रै काम गर्न नसक्ने बताउँदै त्यसका लागि परीक्षासँग सम्बन्धित सबै सरोकारवालाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले दृष्टिविहिन, सुस्त श्रवण, बहिरा, सुस्त मनस्थिती र अपाङ्गता भएका परीक्षार्थीका लागि बढीमा एक घण्टा ३० मिनेटसम्म समय थप गर्न सकिने बताउनुभयो । प्रमुख ढकालले पूर्ण दृष्टिविहिन र पूर्ण रुपमा दुवै हात नचल्ने परीक्षार्थीका लागि सम्बन्धित विद्यालयको प्रअले कक्षा ९ मा अध्ययनरत बिद्यार्थी सिफारिस गरी इकाईले फोटोसहित प्रमाणित गरेको अवस्थामा मात्रै सहयोगी लेखक राख्न पाउने बताउनुभयो ।
कार्यक्रममा शिक्षा सदन माध्यमिक बिद्यालय बनेपाका प्रधानाध्यापक लक्ष्मण दाहालले एसइईलाई विगतमा धेरै परीक्षा गराएको त हो भनी हल्का रुपमा लिन नहुने बताउनुभयो । उहाँले परीक्षालाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो । यस वर्षको एसइईमा नियमिततर्फ पाँच हजार ७८९ जना र ग्रेड बृद्धिका लागि ६०२ परीक्षार्थी गरी कुल छ हजार ३ सय ९१ परीक्षार्थी सहभागी हुने कार्यालयले जनाएको छ । यस वर्षको एसइईका लागि ३४ वटा परीक्षा केन्द्र तोकिएका छन् । ३४ वटा परीक्षा केन्द्रमध्ये बनेपाका चैतन्य मावि, धुलिखेलमा रहेको पूर्ण सञ्जीवनी लङ्खनामाई मावि र हनुमान माविमा महिला केन्द्राध्यक्ष रहनु भएको छ ।