अब शीर मेमोरियल अस्पतालमै सिटी स्क्यान सेवा


विनोदकुमार न्यौपाने

काभ्रे–६५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको बनेपास्थित शीर मेमोरियल अस्पतालमा अव सिटी स्क्यान सेवा पनि पाइने भएको छ । अस्पतालले आजदेखि सिटी स्क्यान सेवा सुरु गरेको हो । 

आज एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले सिटि स्क्यान सेवाको शुभारम्भ गरे । सोही अवसरमा अस्पतालमा स्थापित जेनेरेटर हाउसको उद्घाटन पनि गरिएको छ भने हेमोडायलासिस भवनको शिलान्यास पनि गरिएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टोर जी गायेरसले सन् २०२२ मा चार जना रोटरियनले अस्पतालका लागि सिटि स्क्यानको परियोजना अघि बढाउन आग्रह गरेपछि सिटि स्क्यान ल्याउने प्रकृया सुरु गरिएको बताए । सिटि स्क्यान ल्याउन पहल गरिएको तीन वर्षपछि उक्त परियोजनाले मुर्त रुप लिएको उनले बताए । अस्पतालका लागि १६० स्लाइसको सिटि स्क्यान मेसिन करिब चार लाख ६० हजार अमेरिकी डलर (नेपाली चार करोड ९८ लाख रुपियाँ) रकम बराबरको प्राप्त भएको डा. हेक्टोरले जानकारी दिए । सिटि स्क्यान मेसिन प्राप्त भएसँग अब अस्पतालबाट थप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाई छ । यदि कुनै बिरामीले सिटि स्क्यानको रकम तिर्न नसक्ने अवस्था छ भने पनि रकम अभावकै कारण उक्त बिरामीले सिटि स्क्यान सेवाबाट बञ्चित नपर्ने उनको भनाई छ । 

अस्पतालका लागि आवश्यक पर्ने सिटि स्क्यान मेसिन र जेनेरेटरका लागि दि रोटरी फाउण्डेशन, रोटरी क्लब अफ बोनिटाबिच सनसेट, रोटरी क्लब अफ कुपण्डोल र रोटरी क्लब अफ बनेपा काभ्रे, एडभेन्ट हेल्थ लोमा लिन्डा युनिभर्सिटीलगायतले सहयोग गरेका थिए । यी संस्थाको सहयोगमा अस्पतालका लागि करिब ८५ लाख रुपियाँ बराबरको पाँच सय किलो भोल्ट क्षमताको जेनेरेटर सहयोग प्राप्त भएको हो । यस्तै एडभेन्ट हेल्थ एण्ड जेनेरल कन्फ्रेन्स जर्मन रोटरियन भोलेन्टियर्स डक्टर्सलगायतको नेपाली तीन करोड रुपियाँको सहयोगमा अस्पताल परिसरमा तीन तले हेमोडायलासिस भवन निर्माण सुरु गरिएको हो । उक्त भवनमा दश थान हेमोडायलासिस मेसिन र बिरामीको लागि प्राइभेट कोठा रहनेछन् । 

कार्यक्रममा प्रदेश सभा सदस्य वादेले सिटिस्क्यान सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहजता ल्याउने बताए । उनले निर्माण सुरु भएको हेमोडायलासिस भवन निर्माणपछि समेत विभिन्न रोगका बिरामीहरुको लागि हेमोडायलासिस गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए । कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य, बनेपा नगरपालिका ५ का वडा अध्यक्ष बलराम अधिकारीले अस्पतालले प्रवाह गरेको सेवाको प्रभावको बारेमा चर्चा गरेका थिए ।  


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा

 

ठमेल काव्योत्सव सम्पन्न