काभ्रे – धुलिखेल नगरपालिकालाई इलेक्ट्रोनिक शासन (Electronic Governance) को नमुना बनाउने अभियानमा एउटा नयाँ इँटा थपिएको छ। नेपालकै अग्रणी एआई कम्पनी टिङ टिङ (Ting Ting) सँगको सहकार्यमा गत भाद्र २०८२ देखि सुरु गरिएको One Way AI प्रणाली हालै दुई-तर्फी संवादात्मक एआई 'टिङ टिङ एजेन्ट' (Ting Ting Agent) सफलताका साथ संचालनमा ल्याएको हो ।
यससँगै धुलिखेल आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी नागरिकसँग प्रत्यक्ष संवाद गर्ने नेपालकै पहिलो स्थानीय तहमध्ये एक बनेको छ। यसले धुलिखेल नगरपालिकाको आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोगी सिद्द हुनेछ | धुलिखेल नगरपालिकामा यो अत्याधुनिक एआई प्रविधि भित्र्याउन निवर्तमान नगर प्रमुख अशोक ब्याञ्जुको अतुलनीय योगदान र विशेष सक्रियता रहेको छ । "नागरिकका लागि प्रविधि र सुशासनका लागि डिजिटल प्रणाली" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै निवर्तमान प्रमुख ब्याञ्जुले नगरपालिकाको प्रशासनिक कार्यलाई झन्झटमुक्त बनाउन निरन्तर पहल गर्दै आउनुभएको थियो।
"प्रविधि केवल सहरका लागि मात्र होइन, आम नागरिकको जीवन सहज बनाउनका लागि हुनुपर्छ" भन्ने दृढ संकल्पलाई टिङ टिङले आफ्नो 'अन्डरस्ट्यान्डिङ इन्जिन' मार्फत बलियो साथ दिएको छ।
प्रविधिको प्रयोगबाट नागरिकलाई छिटो-छरितो जानकारी र सेवा प्रदान गर्नुपर्छ भन्ने उहाँको दृढ प्रतिबद्धताकै कारण धुलिखेल आज डिजिटल रूपान्तरणको नेतृत्वदायी भूमिकामा देखिएको हो। धुलिखेलको "स्मार्ट सिटी" को सपनालाई साकार पार्ने दिशामा यो एआई एजेन्ट एउटा उपयुक्त कदम सावित भएको छ।
'टिङ टिङ एजेन्ट' एउटा यस्तो अत्याधुनिक दुईतर्फी एआई टेलिफोनी प्रणाली हो जसले नागरिकका जिज्ञासा र समस्याहरूलाई मानिसले जस्तै प्राकृतिक रूपमा सुन्ने र समाधान गर्ने क्षमता राख्छ।
धुलिखेल नगरपालिकामा यो प्रणाली लागू भएसँगै अब नागरिकले निम्न सुविधाहरू पाउनेछन्:
१. झन्झटमुक्त संवाद: अब नागरिकले फोन गर्दा जानकारी लिन कुनै बटन जस्तै १ वा २ थिच्नु पर्दैन। सिधै आफ्नो समस्या वा जिज्ञासा कल मार्फत एआई एजेन्टलाई स्पष्ट रूपमा राख्न सक्छन्।
२. २४/७ सेवा प्रवाह: कार्यालय समयभन्दा पछाडि वा सार्वजनिक बिदाको दिनमा पनि नागरिकले नगरपालिकाको सेवा सम्बन्धी जानकारी एआई एजेन्टमार्फत तत्काल प्राप्त गर्न सक्नेछन्।
३. कुशल र प्रभावकारी: 'टिङ टिङ एजेन्ट' ले सबै सामान्य प्रश्नहरूको जवाफ दिन्छ जसले गर्दा कर्मचारीहरूको कार्यभार कम गर्न मद्दत गर्दछ ताकि उनीहरूले जटिल समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न सकून्। यसले मानव एजेन्टको धेरै समय बचत हुन्छ।
४. स्थानीय भाषाको पहिचान: टिङ टिङको 'रिरी' (Riri) इन्जिनले स्थानीय भाषालाई दुरुस्तै बुझ्ने भएकाले आम नागरिकलाई मेसिनसँग नभई नगरपालिकाकै सहयोगीसँग कुरा गरिरहेको महसुस हुनेछ यसको लागि धुलिखेल नगरपालिकाको SHIP LINE Number ०११-५९७०२० मा फोन गरेर आफुलाई आवश्यक परेको सेवा लिनको लागि आवश्यक कागजात लगायतका प्रश्नहरु सोध्न सकिनेछ |
पालिकाका सूचना प्रबिधि अधिकृत बलराम धिमालका अनुसार यो डिजिटल रूपान्तरणले धुलिखेलका हजारौँ नागरिकलाई प्रशासनिक काममा सहजता प्रदान गर्नेछ। "प्रविधि केवल सहरका लागि मात्र होइन, आम नागरिकको जीवन सहज बनाउनका लागि हुनुपर्छ" भन्ने दृढ संकल्पलाई टिङ टिङले आफ्नो 'अन्डरस्ट्यान्डिङ इन्जिन' मार्फत बलियो साथ दिएको छ।
यस सहकार्यले नेपालका अन्य स्थानीय निकायहरूका लागि पनि एउटा उत्कृष्ट उदाहरण पेश गरेको छ। ब्याञ्जुको नेतृत्वमा धुलिखेल नगरपालिकाले केवल विकास निर्माणमा मात्र नभई, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उच्चतम प्रयोग गरी सुशासन कायम गर्ने दिशामा समेत नेपालकै नेतृत्वकर्ता बनेको छ।