लालपूर्जा दिने उम्मेदवारको खोजीमा पनौती–२ तोरिखोरियाका बासिन्दा


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ तोरिखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार, पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयसँग अहिलेसम्म पनि आफुले उपभोग गरेको जग्गाको जग्गाधनी (लालपुर्जा) पाउन नसक्दा सुकुम्बासी भएर बस्न बाध्य भएका छन् । 

हरेक निर्वाचनमा यहाँका सुकुम्बासीलाई जग्गा दिलाउने प्रतिवद्धता जनाउँदै राजनीतिक दल र उम्मेदवारहरु भोट माग्दै आएपनि हालसम्म पनि उनीहरुले जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । यस पटक तोरीखोरियाका बासिन्दा विगतका निर्वाचनमा जस्तो लालपुर्जा दिलाइदिने आश्वसन दिने उम्मेदवार भन्दा पनि साँच्चै लालपुर्जा नै दिलाइदिने उम्मेवारको खोजीमा रहेका छन् । “वर्षौदेखि विभिन्न दलका उम्मेदवारहरु आएर तिमीहरुलाई लालपुर्जा दिलाइदिन्छौ, हामीलाई भोट दिनु भनेर भोट माग्न आउने, फेरी चुनाव आउँछ तपाईहरुको लालपुर्जा ल्याएर रातो रुमालमा पोको पारेका छौँ, चुनावमा भोट दिनु हामी लालपुर्जा दिन्छौँ भनेर आश्वसन दिँदै हामीसँग मत माग्न आए, चुनाव जितेर गएपछि भने हाम्रो समस्या समाधान गरेनन्” स्थानीय नारायण तामाङले गुनासो गर्नुभयो । उहाँले हरेक निर्वाचनमा आफुहरुलाई लालपुर्जा दिलाइदिने आश्वसन दिने गरेको भन्दै यस पटक आफुहरुलाई आफुले उपभोग गरेको जग्गाको लालपुर्जा दिलाउन पहल गर्ने उम्मेदवारको खोजी भैरहेको बताउनुभयो । उहाँले गाउँमा खानेपानीको समस्या हुँदा समेत कुनै निकायको ध्यान नगएको बताउँदै खानेपानीको समस्या समाधानका लागि आफैले पाइप किनेर पानी खानुपरेको, बाटो राम्रो नहुँदा दुःख भोग्नु परेको र गत वर्षको बाढीपहिरोले ठुलो क्षति पुगेपनि अहिलेसम्म स्थानीय कुनै राहत नपाएको गुनासो गर्नुभयो । 

स्थानीय मोहनसिं तामाङले पाँच पुस्तासम्म आइपुग्दा समेत आफुहरुले भोगचलन गरेको जग्गाको लालपुर्जा पाउन नसक्दा सुकुम्बासी बन्नु परेको गुनासो गर्नुभयो । “मेरो बाजेको पालादेखि भोगचालन गरेको जग्गा अहिले मेरो नातिको पालासम्म आइपुग्दा हामीले हाम्रो जमिनको लालपुर्जा पाउन सकेनौँ, आफुले भोगचलन गरेको जग्गाको लालपुर्जा नहुँदा सुकुम्बासी बन्न पुगेका छौँ” मोहनसिंले भन्नुभयो । “अहिलेसम्म धेरै चुनाव आए, हामीलाई तिमीहरुको जग्गाको लालपुर्जा दिलाइदिन्छौँ भनेर धेरै आशा पनि देखाए, जुन जोगी आए पनि कानै चिरिएको भने जस्तो अहिलेसम्म हाम्रो समस्याको समाधान हुन सकेको छैन अब त जग्गाको लालपुर्जा पाउने आशा समेत हराइसकेको छ” तामाङले थप्नुभयो । उहाँले अहिले पनि केही दलका उम्मेदवार आएर आफुहरुको समस्या समाधान गर्ने भनेर फर्केपनि आशा भने नरहेको र सबैले प्रतिवद्धता मात्रै जनाउने काम नगरेको देख्दा यस पटकको चुनावमा भोटै नहालौँ जस्तो समेत भएको बताउनुभयो । “हामी हामीलाई लालपुर्जा दिलाइदिने आशा देखाउने उम्मेदवार मात्रै नभई साँच्चै लालपुर्जा दिलाइदिने उम्मेदवारको खोजीमा छौँ” मोहनसिंले थप्नुभयो । 

स्थानीय सूर्य तामाङले आफुहरुले वर्षौदेखि उपभोग गर्दै आएको जग्गाको अहिलेसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउन नसकेको बताउनुहुन्छ । उहाँले आफुहरुले उपभोग गरेको जग्गाको लालपुर्जा नपाउँदा धेरै अप्ठ्याराहरु आउँदा समेत उक्त जग्गाको सदुपयोग गर्न नपाएको बताउनुहुन्छ । “हामीले उपभोग गरेको जग्गाको लालपुर्जा पाउन पाए भोलि केही अप्ठ्यारो पर्दा काम गर्न सहज हुने थियो” सूर्यले भन्नुभयो । उहाँले तोरिखोरियाका बासिन्दाको लालपुर्जाको समस्या चुनावी एजेण्डा बनाउने उम्मेदवार भन्दा पनि काम गर्ने उम्मेदवारको खोजी गरिरहेको बताउनुभयो । पनौती नगरपालिकाका पूर्वनगर प्रमुख भिम न्यौपानेले पञ्चायतकालदेखि नै पनौती नगरपालिका–२ मा मानिसहरुको बसोबास रहेपनि स्थानीयले हालसम्म पनि आफुले उपभोग गरेको जमिनको लालपुर्जा पाउन नसकेको बताउनुभयो । उहाँले वि.सं. २०५१ सालमा गठन भएको भूमि आयोगले स्थानीयले उपभोग गरेको जग्गाको नापजाँचको काम सकेपनि आयोग विघटन भएका कारण स्थानीयबासीले लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले हालसम्म गठन भएका भूमि आयोगमार्फत स्थानीयको समस्या समाधान गर्ने पहल भएपनि हालसम्म पनि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो । 

भूमि समस्या समाधान आयोग काभ्रेपलाञ्चोकले जग्गाको नापी गर्ने क्रममा तोरिखोरियाको पूर्वीतर्फको क्षेत्रफलको नापजाँच गरेको र पश्चिमतर्फ बसोबास भईरहेको जग्गाको नापजाँच गर्न छुटेका कारण स्थान्ीयबासीले हालसम्म नि जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेको जनाएको छ । आयोगका अध्यक्ष बिदुरप्रसाद हुमागाँईले लालपुर्जा प्राप्त गर्न नसकेका तोरिखोरियाका बासिन्दालाई जग्गा दिलाउन वडा कार्यालयले सिफारिस गरेको र आयोगले तोरिखोरियाबासीको अन्यत्र जग्गा भए, नभएको विषयमा बुझ्नको लागि मालपोत कार्यालयमा पठाएको बताउनुभयो । 

(गोरखापत्र दैनिकमा प्रकाशित समाचारको आधारमा)


प्रतिक्रिया



थप समाचारहरु