काभ्रेमा ६ महिनामा १४ हजार ४९९ सवारीसाधनमाथि कार्बाही


मेचीकाली

काभ्रे– काभ्रेमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सवारी नियम उलङ्घन गर्ने साढे चौध हजार सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म जिल्लामा सवारी नियम उलङ्घन गर्ने चौध हजार ४९९ वटा सवारी साधनलाई कारवाही गरिएको जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले छ महिनाको अवधिमा सवारी नियम उलङ्घन गर्ने सवारी साधनको कारवाहीबाट ९७ लाख ९४ हजार पाँच सय रुपियाँ जरिवाना (राजस्व) सङ्कलन गरिएको बताए । महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी सवारी नियम उलङ्घन गर्नेमा मोटरसाईकल रहेको घिमिरेले बताए । उनका अनुसार यो अवधीमा सवारी नियम उलङ्घन गरे वापत चार हजार ८२० वटा मोटरसाईकललाई कारवाही गरिएको छ । मोटरसाईकल कारवाहीबाट ३२ लाख ६२ हजार राजस्व सङ्कलन गरिएको भएको छ । सडकमा अन्य सवारी साधनको तुलनामा मोटरासाईकल बढी गुड्ने गर्दछन्, सडकमा जुन सवारी साधन बढी चल्छन् ती सवारीबाट नै धेरै नियम उलङ्घन हुने क्रम समेत बढी हुने गरेको तथ्याङ्कले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

सडकमा गुड्ने मोटरसाईकलहरुले ब्लु बुकलगायतको कागजपत्र नबोकेको, हेल्मेट नलगाएको, लेन अनुशासन पालना नगरेको, क्षमताभन्दा बढी यात्रु बोकेकोलगायतको कसुर गर्ने गरेको पाइएको छ । मोटरसाईकलपछि दोस्रो नम्बरमा सवारी नियम उलङ्घन गर्नेमा ट्रक रहेको रहेका छन् । ट्राफिक प्रहरीका अनुसार छ महिनाको अवधिमा चार हजार २३६ वटा ट्रकबाट ३० लाख ८५ हजार जरिवाना, तीन हजार २२४ वटा कार÷जीप÷भ्यानबाट १९ लाख ९७ हजार पाँच सय रुपियाँ, एक हजार ८२९ वटा बसबाट ११ लाख ८८ हजार पाँच सय रुपियाँ, २८२ वटा टेम्पोबाट दुई लाख एक हजार र १०८ वटा ट्याक्टर कारवाहीबाट ६० हजार पाँच सय रुपियाँ जरिवाना सङ्कलन भएको प्रहरीले जनाएको छ । 



प्रतिक्रिया



थप समाचारहरु