काठमाडौं–मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेले पार्टीकी पूर्व उपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन नदिने निर्णय गरेको छ । दुई दिनसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको हो ।
पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका छन् । अध्यक्ष ओलीले यो निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका छन् । उनीहरुले लिखितरुपमै असहमति जनाउने पनि बताइसकेका छन् । एमालेको गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि बहस शुरू भएको थियो । हिजोमात्रै पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू अघि बढिसकेको भन्दै पछि फर्कने अवस्था नरहेको बताएकी थिइन् ।
एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीको विवाद टुङ्ग्याउँदै आउँदो अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै भएको जनाउ दिएको छ । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णय आउँदो भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।