बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई


रामहरि श्रेष्ठ

बेथानचोक-बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ ।

मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा चित्त बुझाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ८० हजार, द्वितीयले रु. ५० हजार, तृतीयले २०/२० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १७ वटा टिम आमनेसामने भएका थिए ।

यस्तै प्रतियोगितामा विधागत तर्फ बेष्ट स्पाइकर मण्डनदेउपुर नगरपालिका टिममा केशव गौतम, बेष्ट ब्लकरमा मण्डनदेउपुरकै सुरेशकुमार श्रेष्ठ, बेष्ट सेटरमा खानीखोला गाउँपालिकाका सुवास थोकर, बेष्ठ डिफेण्डर मण्डनदेउपुरका प्रविण सापकोटा र बेष्ठ सर्भरको उपाधि खानीखोलाका मनराज आलेमगरले जित्नु भयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीको उपाधि खानीखोला कै उमेस रानामगर घोषित हुनुभयो । 

समापन कार्यक्रममा सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले वर्षेनी गर्दै आइरहेको सो प्रतियोगितामा १७ टिममा सहभागिता रहनु उत्साहको कुरा भएको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रमा लगानी गर्न गाउँपालिका प्रतिबद्ध भएको बताउनुभयो । खेलले भाइचार बढाउने बताउँदै उहाँले सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको र खेलाडीको खेल कौशललाई थप निखार्दै विभिन्न प्रतियोगितामा पालिकाको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले उत्साहपूर्वक खेल क्षेत्रमा लागेका खेलाडीले निराश हुनु नपर्ने बताउँदै प्रतियोगिता सम्पन्न तुल्याउन भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यवाद दिनुभयो । समापन कार्यक्रमको सभाध्यक्षता बेथानचोक गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले गर्नु भएको थियो । समापन कार्यक्रमा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम