मतदानको तयारी अन्तिम चरणमा, भोली बिहान ७ बजेदेखि मतदान सुरु हुने


मेचीकाली

काभ्रे–प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ ।

 चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ । बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ । चुनावलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भइसकेको छ । सुरक्षा निकायका अनुसार अहिलेसम्म चुनाव बिथोल्ने प्रयासमा संलग्न १ सय ७६ जनालाई पक्राउ गरिएको छ । कतिपय स्थानमा नक्कली शंकास्पद वस्तु फेला परेपनि सुरक्षा संयन्त्रले निष्क्रिय पारेको छ । 

निर्वाचन आयोगले गाडी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ । सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले चुनाव अवधिमा आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ । समग्रमा सुरक्षा, प्रशासनिक समन्वय, सामग्री व्यवस्थापन र मौसमको अनुकूल अवस्थाका कारण चुनावको तयारी लगभग पूरा भएको छ । 

मौसमले पनि मतदानको दिन भोलि ठूलो प्रभाव नपार्ने पूर्वानुमान गरिएको छ । भोलि पानी पर्ने सम्भावना छैन । पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि समग्रमा मौसम सफा रहने मौसमविद्ले बताएका छन् । भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था समेत गरेको छ ।


प्रतिक्रिया



थप समाचारहरु