काभ्रे– चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश तथा सङ्घीय सरकारमार्फत जिल्लामा विभिन्न मन्त्रालयमार्फत अघि सारिएका विकास निर्माणलगायतको काम सुरु भएको छ । बागमती प्रदेश सरकार र सङ्घीय सरकारले जिल्लामा आफु मातहत रहेका विभिन्न कार्यालयहरुमार्फत सञ्चालन गर्नका लागि छुट्टिएका विभिन्न आयोजनाको काम सुरु भएको हो ।
जिल्लामा रहेका विभिन्न कार्यालयहरुले योजनाहरुको स्थलगत निरीक्षण, योजनाको लगत अनुमान तयार गर्ने, योजनाहरुको डिजाइन, बोलपत्र आह्वान तथा योजना सम्झौताको काम सुरु गरेको जनाएका छन् । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) विरेन्द्रकुमार बज्राचार्यले चालु आर्थिक वर्षका लागि कार्यालयमार्फत नयाँ र पुराना बहुवर्षीय योजनासहित १७४ वटा योजनाको काम हुने बताउनुभयो । उहाँले कार्यालयले चालु आवमा सञ्चालन हुने योजनाहरुको स्थलगत निरीक्षण (फिल्ड भेरिफिकेसन), लागत अनुमान, योजनाको डिजाइन गर्ने, बोलपत्र आह्वान गर्ने, बोलपत्रमाथि मूल्याङ्कन गर्ने र योजनाको सम्झौता गर्ने काम भईरहेको बताउनुभयो ।
उहाँले हालसम्म पुराना बहुवर्षीय योजना र नयाँ योजना गरी ४३ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा गएको बताउनुभयो । उहाँले चालु आवमा जिल्लामा सञ्चालन हुने बहुवर्षीय २३ वटा सडक र आठ वटा पुलको लगत अनुमान तयार भएकोले स्रोत सुनिश्चितताको लागि प्रदेश सरकारमा पठाइएको बताउनुभयो । उहाँले प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएर आएसँगै ती योजनाहरुको समेत खरिद प्रक्रिया अघि बढाइने बताउनुभयो । कार्यालयले चालु आवमा प्रदेश सरकारबाट योजनाहरुमा दश देखि ३० प्रतिशतसम्म बजेट कटौती भएर आएकोले एउटै क्षेत्रमा दुई योजनालाई मर्ज (एउटै बनाएर) काम गरिएको जनाएको छ ।
जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका डिभिजन प्रमुख इन्जिनियर राजकुमार तण्डुकारले कार्यालयमार्फत चालु आवमा २२६ वटा योजनाको काम हुने बताउनुभयो । उहाँले हालसम्म ३० वटा योजना सम्झौता भई काम सुरु भएको बताउनुभयो । उहाँले चालु आवमा सञ्चालन हुने योजनाको स्थलगत अनुगमन, लागत अनुमान तयार गर्नको लागि कर्मचारीहरु कार्यक्षेत्रमा खटिएको बताउनुभयो । उहाँले यस वर्ष कार्यालयमा पाँच हजार भन्दा बढी थान ग्याविन तारजालीको माग धेरै भएको बताउँदै कार्यालयको बजेटबाट करिब छ सय थान मात्रै खरिद गर्न सकिने अवस्था रहेको बताउनुभयो । उहाँले कार्यालयले तारजाली खरिदको प्रक्रिया अघि बढाएको बताउनुभयो । ई. तण्डुकारले कार्यालयले बाढीपहिरोबाट बढी क्षति र जोखिम रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोसी गाउँपालिकाको जोखिमयुक्त स्थानको संरक्षणका लागि रोसी खोला नियन्त्रण कार्यक्रम अन्र्तगत काम गरिने बताउनुभयो । उहाँले कार्यालयमार्फत यस वर्ष सिञ्चाईका १६८ वटा र तटबन्धन (नदि नियन्त्रण)का ५८ वटा योजनामा काम हुने बताउनुभयो ।
यसैगरी सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले कार्यालयमार्फत चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखामा गरी १७५ वटा योजनाको काम हुने बताउनुभयो । उहाँले कार्यालयमार्फत सञ्चालन हुने योजनाहरुमध्ये हालसम्म १३ वटा योजनाको बोलपत्र आह्वान भएको बताउनुभयो । उहाँले चालु आवमा सञ्चालन हुने थप ३५ वटा योजनाको लगत अनुमान तयार भई ठेक्काको चरणमा रहेको बताउनुभयो । उहाँले कार्यलयका कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटाई योजनाहरुको स्थलगत अनुगमन तथा लगत स्टिमेट तयार गर्ने काम भईरहेको बताउनुभयो । ई. घिमिरेले कार्यालयमार्फत २० वटा पुराना योजनाको काम समेत भईरहेको बताउनुभयो ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले कार्यालयमार्फत चालु आवमा सञ्चालन हुने विभिन्न कार्यक्रमको लागि निवेदन मागका लागि सूचना प्रकाशनको काम सकिएको बताउनुभयो । उहाँले कार्यक्रमको सूचना प्रकाशन सकिएसँगै अब आवेदनको प्रारम्भिक छनौटको काम गर्ने, फिल्डको स्थलगत अनुगमन तथा मूल्याङ्कनलगायतको काम अघि बढाइने बताउनुभयो । प्रदेश सरकार गठन, जेन्जी समूहको आन्दोलनका कारण विभिन्न कार्यालयमार्फत जिल्लामा सञ्चालन हुने पूर्वाधार निर्माण, सडक, खानेपानी, सिञ्चाई, कृषि तथा पशुपालनको क्षेत्रमा सञ्चालन हुने योजनाहरु प्रभावित भई योजनाको काम सुरु गर्न ढिलाई भएको हो ।