धुलिखेल–नेपालको इतिहासमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी तीब्र बनेको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काभ्रेमा आगामी चैत १४ गतेदेखि १८ गतेसम्म युवा सम्मेलन हुँदैछ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले सम्मेलनको तयारी तीब्ररुपमा भइरहेको र चैत १४ गते काठमाडौं विश्वविद्यालय परिसरमा उद्घाटन हुने बताए । आज धुलिखेलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा गौतमले उद्घाटन समारोहमा १ लाख भन्दा बढी मानिसको उपस्थिति रहने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मेलनको उद््घाटन गराउनेगरी कार्यक्रमको तयारी अघि बढेको छ ।
सम्मेलन अवधीमा विभिन्न मुलुकबाट करिव ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको गौतमले बताए । सम्मेलनमा कन्र्सट, समुहगत छलफल तथा स्टलहरु रहनेछन् । २ सय भन्दा धेरै बक्ता र १० हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिनेछन् । ५० भन्दा धेरै इभेन्ट उक्त सम्मेलन अवधीमा आयोजना हुनेछ । सम्मेलनमा नेपालका ७ सय ५३ वटै स्थानीय तहको सहभागिता रहनेछ । यस्तै ७५ भन्दा बढी देशबाट सहभागी हुने तय भइसकेको छ ।
सम्मेलनको प्रचार प्रसार गर्ने उदेश्यले ५ लाख पुरस्कार राशीको फुटसल प्रतियोगिता आयोजना गरिएको छ । माघ १७ देखि १९ गतेसम्म आयोजना हुने फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालय स्तरीय हुनेछ । खुलातर्फ पहिलो हुने टिमले ५ लाख र विद्यालयतर्फ पहिलो हुने टिमले १ लाख पुरस्कार पाउनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले युवा सम्मेलन जिल्ला समन्वय समितिमात्र नभई सिंगो काभ्रे जिल्लाको कार्यक्रम भएको भन्दै सबै सरोकारवाला मिलेर सम्मेलन सफल बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।