काभ्रेमा बैङ्किङ तथा ठगी कसुरका मुद्दाहरु बढ्दै


मेचीकाली

काभ्रे- पछिल्ला वर्षहरुमा काभ्रेपलाञ्चोक जिल्लामा बैङ्किङ (चेक बाउन्स) तथा ठगी कसुर सम्बन्धी मुद्दाहरु बढेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा जिल्लामा बैङ्किङ तथा ठगी कसुर सम्बन्धी झण्डै डेढ सय वटा मुद्दा परेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा प्रहरी कार्यालयमा बैङ्किङ तथा ठगी कसुर सम्बन्धी १४२ वटा मुद्दा दर्ता भएको बताउनुभयो । उहाँले प्रहरीकोमा दर्ता भएको बैङ्किङ तथा ठगी कसुर सम्बन्धीमध्ये ११७ वटा मुद्दाको फछ्र्यौट भैसकेको र २५ वटा मुद्दाको फछ्र्यौट बाँकी रहेको बताउनुभयो । उहाँले चालु आवको साउन महिनामा प्रहरी कार्यालयमा बैङ्किङ तथा ठगी कसुर सम्बन्धी २८ वटा, भदौमा २९ वटा, असोजमा २० वटा, कात्तिकमा २४ वटा र मङ्सिर महिनामा आठ वटा मुद्दा दर्ता भएको बताउनुभयो । यस्तै पुस महिनामा १२ वटा, माघ महिनामा सात वटा, फागुन महिनामा पाँच वटा र चैत महिनामा नौ वटा मुद्दा दर्ता भएको थियो । प्रहरीकोमा दर्ता भएकामध्ये साउन महिनामा २८ वटा, भदौमा २९ वटा, असोज महिनामा २० वटा, कात्तिकमा २३ वटा, मङ्सिरमा आठ वटा, पुसमा आठ वटा र फागुन महिनामा एउटा मुद्दाको फछ्र्यौट भएको प्रहरीले जनाएको छ । 

प्रनाउ बिष्टले प्रहरीकोमा दर्ता भएकोमध्ये कात्तिकको एउटा, पुस महिनाको चार वटा, माघ महिनाको सात वटा, फागुनको चार र चैत महिनाको नौ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको बताउनुभयो । 

प्रहरीले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा बैङ्किङ तथा ठगी कसुरमा ३२ जना पुरुष र चार जना महिला गरी कुल ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन महिनामा १० जना, भदौमा आठ जना, असोज महिनामा सात जना, कात्तिकमा पाँच जना, पुसमा तीन जना र चैत महिनामा तीन जनालाई पक्राउ गरेको हो । प्रहरीकोमा आर्थिक वर्ष २०८०/०८१ मा बैङ्किङ तथा ठगी कसुका १४७ वटा मुद्दा, आर्थिक वर्ष २०८१/०८२ मा १६५ वटा मुद्दा दर्ता भएको थियो भने आव २०८०/०८१ मा ५८ जना र आव २०८१/०८२ मा ५८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

प्रनाउ बिष्टले आव २०८१/०८२ मा बैङ्किङ तथा ठगी कसुरमा संलग्न रहेकामध्ये १०७ जना र चालु आवमा १०६ जना फरार रहेको बताउनुभयो । 

सहकारी ठगीका सात उजुरी 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सञ्चालित सात वटा सहकारी र त्यसका सञ्चालकबिरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको छ । 

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि आव २०८१/०८२ सम्म सहकारी ठगीका सात वटा मुद्दा दर्ता भएको जनाएको हो । हालसम्म बनेपास्थित पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक कुमार गौतम, गरुड बचत तथा ऋण सहकारीका अध्यक्ष वासुदेव खड्कासहित पाँच जना, युनिटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रलाल श्रेष्ठसहित चार जना सञ्चालक अदालतको आदेशपछि पूर्पक्ष थुनामा गएका छन् । 

यस्तै सहकारी ठगीको मुद्दामा बनेपाकै यु.एम. बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रुशन श्रेष्ठ र अग्नि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र श्रेष्ठसहित दुई जना पूर्पक्ष थुनामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले पुण्यश्वर सहकारी छ जना, गरुडका छ जना, युनिटीका चार जना, यु.एम. बचतका चार जना र अग्नि बचतका सात जनालाई पक्राउ गरेको थियो । 

प्रहरी नायव उपरीक्षक बिष्टले बनेपाकै पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पानबहादुर श्रेष्ठलगायतका १७ जना र मुकुल बचत तथा ऋण सहकार संस्था लिमिटेडका अधयक्ष सुनम सुब्बासहित दश जना फरार रहेको बताउनुभयो । प्रहरीकोमा पुण्यश्वर बचतका सञ्चालकले तीन करोड ८० लाख ९३ हजार ४१८ रुपियाँ, गरुड बचतको १२ करोड ३२ लाख ४५ हजार २०५ रुपियाँ, युनिटीको तीन करोड १९ लाख १८ हजार ५२५ रुपियाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।

त्यसैगरी यु.एम. बचत सहकारीका सञ्चालकबिरुद्ध १५ करोड ६१ लाख ५८ हजार नौ रुपियाँ र अग्नि बचतको सञ्चालकबिरुद्ध २४ करोड ९७ लाख पाँच हजार ९७७ रुपियाँ, पशुपती बचतको १४ करोड ३६ लाख ७८ हजार ३३४ रुपियाँ र मुकुल बचतका चार करोड ७२ लाख ८१ हजार ७७० रुपियाँ बचतकर्ताको रकम हिनामिना रहेको उजुरीमा उल्लेख छ । 


प्रतिक्रिया



थप समाचारहरु