काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ । यस्तै यो सडकमा रातिको समयमा अन्य सवारीसाधन सञ्चालनमा पनि रोक लगाइने भएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पाँचखाल नगरपालिकाका उपप्रमुख, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकको निर्णयअनुसार धुलिखेल–खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न यही असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको छ । यस्तै टिपरबाहेकका अन्य यात्रुबाहक र मालवाहक सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेशमा रोक लगाइनेछ ।
यद्यपि, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको छ । सवारी व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने निर्णयसमेत बैठकले गरेको छ । साथै, उक्त निर्णयबारे आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयलाई दिइएको छ ।
सडक निर्माणको बाँकी काम छिटो सम्पन्न गरी यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।