काभ्रे-बाढीपहिरोका कारण एकसातादेखि अवरुद्ध रहेको विपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गमा भएको अवरोध हटेर अस्थायी ट्रयाक खुलेको छ ।
अबरुद्ध भएका सबै स्थानमा अस्थायी डाइभर्सन र पहिरो हटाइ सकिएसँगै विपी राजमार्ग खुलेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले एक सातादेखि बाढीपहिरोका कारण अवरुद्ध रहेको विपी राजमार्गमा अस्थायी सडक ट्रयाक खोल्ने काम सकिएको बताउनुभयो । उहाँँले बाढीपहिरोका कारण विपी राजमार्गको दाप्चा (एक नम्बर) पुलदेखि काभ्रेपलाञ्चोकको क्षेत्रभित्र पर्ने बर्खेखोलासम्मको बाढीलले भत्काएको सडक र पहिरो आई अवरुद्ध भएको सडक शुक्रबार दिउँसो ४ बजेबाट ट्रयाक खुलेको बताउनुभयो ।
“अहिले ४ बजेबाट विपी राजमार्गको सबै अबरोध हटाएर ट्रयाक खुलाउने काम सकिएको छ, ट्रयाक खुलेको स्थानमा अवस्था अनुसार साँघुरो स्थानमा सडक चौडा गर्ने, सडकको उचाई बढाउने र सडकको सतह सुधार गर्ने काम निरन्तर रुपमा अघि बढाइनेछ” सिडिई योगेशले भन्नुभयो ।