काभ्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ । काभ्रेमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी पर्न सकेन भने कसैले पनि उम्मेदवारीसमेत फिर्ता लिएनन् ।
क्षेत्र नंवर १ र २ मा कुनै पनि उम्मेदवारले आज निर्धारित समयभित्र उम्मेदवारी फिर्ताका लागि निवेदन नदिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुबै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई आवै चुनाव चिन्ह वितरण गरेका छन् । स्वतन्त्र उम्मेदवारहरुले खसीको टाउकोदेखि प्रेसरकुकर सम्मका चुनाव चिन्ह रोजेका छन् ।
काभ्रेमा क्षेत्र नं १ मा ३ जना र क्षेत्र नं २ मा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान १० बजेदेखी एक बजेसम्म उम्मेदवारी फिर्ताको कार्यक्रम रहेको थियो । आजै दिउँसो ४ बजे दुबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई बोलाएर चुनाव चिन्ह रोज्न लगाइएको थियो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका लागि छुट्याएका चिन्हमध्येबाट उम्मेदवारहरुले चिन्ह रोजेका थिइए । क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार जीवन लामाले क्याप, युवराज चौलागाइँले ड्रम सेट र राजेशकुमार श्रेष्ठले आँखीझ्याल चुनाव चिन्ह पाएका छन् । यस्तै क्षेत्र नंवर २ का स्वतन्त्र उम्मेदवार आशा तामाङले भंगेरा, उमेश थापाले ठेकी, केशवराज तिमल्सिनाले आँप, गणेशप्रसाद अधिकारीले आँखीझ्याल, लेनिन बिष्टले कप र प्लेट, बिष्णुकुमार श्रेष्ठले प्रेसर कुकर, सिताराम मैनालीले खसीको टाउको र डिल्लीप्रसाद न्यौपानेले मसी चिन्ह पाएका छन् ।
काभ्रे क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दिएका छन् । चुनाव चिन्ह प्रदानसँगै जिल्ला निर्वाचन कार्यालय काभ्रेले भोली आचारसंहिताका विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ ।