५० वर्षको पखाईपछि भुम्लुका दुई वडाबासीले लालपूर्जा पाउँदै


मेचीकाली

काभ्रे–लालपूर्जाका लागि काभ्रेको भुम्लु गाउँपालिकाका दुईवटा वडाका बासिन्दाको ५० वर्षदेखिको पर्खाई अब अनत्य हुने भएको छ । वि.सं २०३२ सालदेखि यी दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । तत्कालन समयमा सिमाना विवादका कारण  साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७, ८) का बासिन्दाले लालपूर्जा पाउन सकेका थिएनन् ।

तर, अब भने उनीहरुको हातमा आफ्नो जग्गाको लालपूर्जा पर्ने भएको छ । नापी कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु गाउँपालिका–७ र ८ का नागरिकलाई लालपुर्जा उपलब्ध गराउनका लागि वि.स. २०७१ साल जेठ २५ गतेदेखि नापी टोली गाउँमा खटाएको थियो । कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाउने भएका हुन् । 

काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले लालपुर्जाविहिन भुम्लु गाउँपालिका–७ र ८ का जग्गाधनीलाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताउनुभयो । उहाँले लालपुर्जा पाउनबाट बञ्चित भएका भुम्लुबासीका लागि साउन अन्तिमसम्म लालपुर्जा वितरण गरिने बताउनुभयो । उहाँले वडा नम्बर–७ का करिब तीन सय, वडा नम्बर–८ मा करिब छ सय परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्नुपर्ने बताउनुभयो । “हालसम्म कार्यालयमा परेको आवेदनमध्ये करिब ३५० परिवारको लालपुर्जा बनिसकेको छ, बनेका लालपुर्जा वितरण गर्नका लागि सम्बन्धित मन्त्रालय र विभागबाट चेकजाँच गरी वितरणको लागि अनुमति प्राप्त गरेका छौँ, हामी यो (साउन) महिनाको अन्तिमसम्म करिब ४५० वटा लालपुर्जा निर्माण गरेर वितरण गर्नेछौँ” प्रमुख नापी अधिकृत भुसालले भन्नुभयो । 

उहाँले भुम्लुका  लालपुर्जाविहिन परिवारका लागि लालपुर्जा प्रदान गर्नका लागि नापी अधिकृतको नेतृत्वमा दुई वटा टोलीले गाउँमा बसेर काम गरिरहेको बताउनुभयो । “लालपुर्जा दिनका लागि गाउँमा खटिएको नापी टोली लालपुर्जा वितरण भएको १२० दिनसम्म अर्थात् चार महिनासम्म सम्बन्धित क्षेत्रमा नै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका सबै परिवारलाई लालपुर्जा वितरण गरिसक्नेछ” प्रमुख नापी अधिकृत भुसालले थप्नुभयो । उहाँले लालपुर्जा विरतण गरिसकेपछि जग्गा सम्बन्धि सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरु नापी कार्यालयमा बुझाएपछि जग्गा प्रशासनको नयाँ काम सुरु हुने बताउनुभयो । प्रमुख नापी अधिकृत भुसालले आफ्नो जग्गाको लालपुर्जा पाउने आशामा बसेका भुम्लुका दुई वडाबासीले ५० वर्षमा लालपुर्जा प्राप्त गर्न लागेको बताउनुभयो । नापी कार्यालयले लालपुर्जा पाउने आशामा बसेका जग्गाधनीले आफ्नो जग्गाको लगत भिड्ने आवश्यक कागजात नल्याउँदा भने काम गर्न समस्या भएको जनाएको छ । यस्तै ततकालिन अवस्थामा उक्त स्थानमा बसेका नागरिकहरु बसाईसराइ गरी सहरी क्षेत्रमा बस्दै आएको र कार्यालयले निकालेको सुचनालाई वेवास्ता गर्दै समयमा नै सम्पर्कमा नआउँदा काममा समस्या देखिएको जनाएको हो । 

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् । वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उकत जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो । भुम्लु गाउँपालिका–७ र ८ को लालपुर्जाको समस्या वषौसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका नापी अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो । त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्य योजना तयार गरी पेश गर्न नापी अधिकृत ई. ग्रिष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरी प्रतिवेदन तयार गरेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु