काभ्रे– काभ्रेका दुईवटा सहकारीमा ऋण लिएर नतिर्ने ऋणीसमेत कार्बाहीको दायरामा पर्ने भएका छन् । सहकारीमा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहि भईरहेको अवस्थामा सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरुलाई समेत कारवाहि गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा सञ्चालित दुई वटा सहकारीबाट ऋण लिई नतिर्ने ऋणीहरुलाई ऋण तिर्न आउन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रहरीले बनेपा नगरपालिका– ७ मा रहेको मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा नगरपालिका–१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरुका लागि ऋण तिर्न आउनका लागि पाँच दिने सार्वजनिक सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठले बनेपा नगरपालिका–७ मा रहेको मुकुल बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर–१० मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएका १४२÷१४२ जना व्यक्तिले ऋण लिई ऋण चुक्ता नगरेकोले ऋण चुक्ता गर्ने योजना सहित अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको बताउनुभयो । उहाँले दुवै सहकारीका बचतकर्ताहरुले जम्मा गरेको बचत रकम हिनामिना गरी ठगी गरेको हुँदा उक्त सहकारीहरुका सञ्चालक समितिका पदाधिकारीलाई कारबाही गरी ठगी गरेको रकम दिलाई पाउँ भनी सहकारी ठगी मुद्दामा कार्यालयमा मुद्दा परेको बताउनुभयो ।
प्रहरी निरीक्षक श्रेष्ठले दुवै सहकारीका सञ्चालक समितिका पदाधिकारी बिरुद्ध परेको मुद्दाको अनुसन्धान गर्ने क्रममा दुवै सहकारीबाट १४२÷१४२ जना व्यक्तिले ऋण लिएको र लिएको ऋण चुक्ता नगरेको देखिएकोले पाँच दिनभित्र ऋण तिर्ने योजनासहित उपस्थित हुन सूचना जारी गरिएको बताउनुभयो । उहाँले कार्यालयले तोेकेको समयमा सम्पर्कमा नआएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ ।