काभ्रे– अविरल वर्षासँगै आएको बाढीपहिरोबाट जिल्लामा अर्बौको क्षति पुगेको १३ महिना भइसकेको छ । बाढीपहिरोबाट क्षति पुगेको एक वर्ष नाघिसक्दा पनि हालसम्म नागरिकले अस्थायी आवास निर्माणको लागि सरकारले प्रदान गरेको रकम लिन सकेका छैनन् ।
जिल्लामा रहेका स्थानीय तहहरुबाट बाढीपहिरोबाट घर क्षति पुगेका पिडित परिवारका लागि दोस्रो किस्ताको रकम माग नहुँदा उनीहरुको लागि अस्थायी आवास निर्माणको लागि आएको करोडौँ रुपियाँ रकम त्यतिकै थन्किएर बसेको छ । गत वर्ष असोज १०–१२ मा अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्गसहित जिल्लामा अर्बौको क्षति भएको थियो । गत वर्षको बाढीपहिरोको घास निको नहुँदै यस वर्ष पनि असोज १७, १८ गतेको वर्षाले पुनः क्षति पु¥याएको छ ।
बाढीपहिरोले अर्बौको क्षति गरेको एक वर्ष पुरा हुँदा समेत जिल्लामा रहेका १३ वटा स्थानीय तहहरुमध्ये दुई वटा स्थानीय तहका पिडित परिवारले मात्रै अस्थायी आवास वापतको दोस्रो किस्ताको रकम प्राप्त गरेका छन् भने बाँकी ११ वटा स्थानीय तहका पिडितहरुले रकम पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला विपद् कोषमा गत वर्षको बाढीपहिरोमा घर क्षति भएका पिडित परिवारका लागि अस्थायी आवास निर्माणको लागि दोस्रो किस्ताको लागि रकम प्राप्त भएपनि स्थानीय तहहरुबाट माग नभएकोले उक्त रकम खर्च हुन नसकेको जनाएको छ । कार्यालयका लेखापाल नरहरिनाथ खनालले कार्यालयबाट गत वर्ष असोज महिनाको बाढीपहिरोमा घर क्षति भएका जिल्लाको १३ वटै स्थानीय तहका तीन हजार १२८ घरपरिवारका लागि पहिलो किस्ता रकम उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले १३ वटै स्थानीय तहका पिडित परिवारका लागि पहिलो किस्ताको रकम उपलब्ध गराएपनि हालसम्म रोसी गाउँपालिका र बेथानचोकका ६५७ परिवारलाई मात्रै दोस्रो किस्ता पठाइएको बताउनुभयो । “रोसी गाउँपालिकाका ४६१ परिवारका लागि १५ हजारका दरले एक करोड १५ लाख २५ हजार र बेथानचोकका १९६ परिवारका लागि ४९ लाख गरी कुल एक करोड ६४ लाख २५ हजार रुपियाँ दोस्रो किस्ताको रकम उपलब्ध गराइएको छ” लेखापाल खनालले बताउनुभयो । उहाँले जिल्लाको पाँचखाल नगरपालिकाबाट दोस्रो किस्ता वापतको रकम माग भएकोले यो साताभित्र रकम उपलब्ध गराइने बताउनुभयो ।
जिल्लाको पनौती, मण्डनदेउपुर, बनेपा, धुलिखेल, नमोबुद्ध नगरपालिका, महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली, भुम्लु गाउँपालिकाबाट अस्थायी आवास वापतको दोस्रो किस्ताको रकम माग नभएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले उक्त पालिकाहरुबाट आवश्यक कागजातसहित रकम माग भएको खण्डमा तुरुन्त रकम भुक्तानी गर्न सकिने जनाएको छ । प्रशासनको विपद् व्यवस्थापन कोषमा तीन करोड ३० लाख रुपियाँ रहेको छ । जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पिडितहरुबाट आउनुपर्ने कागजात समयमा नै नआएको हुनाले दोस्रो किस्ताको रकम माग गर्न ढिलाई भएको बताउनुभयो ।
कार्यालयले गत वर्षको असोज महिनाको बाढीपहिरोमा घर क्षति भएका जिल्लाको १३ वटा स्थानीय तहका तीन हजार १२८ घरपरिवारका लागि पहिलो किस्ता वापत २५ हजारका दरले सात करोड ८२ लाख रुपियाँ रकम भुक्तानी गरेको थियो । कार्यालयले जिल्लाको धुलिखेल नगरपालिकाभित्रका पिडितका लागि २२ लाख ५० हजार, बेथानचोक गाउँपालिकामा ८२ लाख, महाभारत गाउँपालिकामा चार लाख २५ हजार, रोसी गाउँपालिकामा एक करोड ४० लाख ७५ हजार, चौरीदेउराली गाउँपालिकामा ७० लाख, मण्डनदेउपुर नगरपालिकामा ३३ लाख २५ हजार रुपियाँ रकम उपलब्ध गराएको थियो । यस्तै पनौती नगरपालिकामा एक करोड ५८ लाख ५० हजार, नमोबुद्ध नगरपालिकामा दुई करोड छ लाख, पाँचखाल नगरपालिकामा २२ लाख, खानीखोला गाउँपालिकामा १३ लाख २५ हजार, बनेपा नगरपालिकामा १० लाख २५ हजार, भुम्लु गाउँपालिकामा १० लाख र तेमाल गाउँपालिकामा २५ लाख २५ हजार पहिलो किस्ताको रकम उपलब्ध गराएको थियो ।