काभ्रे– पछिल्लो समय आयुर्वेद तथा वैकल्पिक चिकित्साप्रति नागरिकको आकर्षण बढेको छ । यससँगै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले सञ्चालन गरेको ‘पथ्याहार कार्यक्रम’ समेत प्रभावकारी बन्दै गएको छ । कार्यालयले गत वर्षदेखि बागमती प्रदेश सरकारको सहयोगमा खानपानमा सुधार र समय अनुसार फरक ढङ्गका प्राकृतिक आहार खाने बानी बसाल्ने उद्देश्यले पथ्याहार कार्यक्रम सुरु गरेको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकका प्रमुख डा. वशंवदा काण्डिन्न्यायनीले कार्यालयले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गर्दै सञ्चालन गरेको पथ्याहार कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले पत्थाहार कार्यक्रम हरेक सोमबार हरेक सोमबार ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिँदै आएको बताउनुभयो । “पथ्याहार कार्यक्रममा ऋतु अनुसारका खान मिल्ने मुङ दालको टुसा, मेथी टुसा, करेला साँधेको, अमलाको परिकार, मोही, जडिबुटी, खीर, खिचडी, च्याँख्लालगायतका खानाका परिकारहरु कार्यालय बनाएर सेवाग्राही र अतिथीलाई खुवाउने गर्दछौँ” उहाँले भन्नुभयो । उहाँले पथ्याहार खुवाउनु अघि सेवाग्राहीहरुलाई पत्थाहारको बारेमा जानकारी, यसको महत्वलगायतको विषयमा जानकारी समेत प्रदान गरिने बताउनुभयो । “ऋतु अनुसारको आहार खाने बानीले ऋतुजन्य रोगहरुबाट बचाउन मद्दत गर्दछ भने कुनै नागरिकमा कुनै रोग छ भने रोग अनुसारको पथ्याहार अलग÷अलग हुन्छ” डा. कौण्डिन्न्यायनीले थप्नुभयो ।
उहाँले पथ्याहारले नागरिकलाई रोगलाई घटाउन मद्दत गर्ने बताउनुभयो । “ पथ्याहार पनि सधैँ खान मिल्ने र विशेष समयमा खाने भन्ने किसिमको हुन्छ, ग्रीष्म ऋतुमा मुख्यतया सातु, मोही, खीर, गुड, तिललगायतका गरिष्ठ आहार खाने ऋतु हेमन्त र शिशिर हो, अमलार, जौ, उमालेको पानी, किसमिस सधैँ सेवन गर्न मिल्छ” डा. कौण्डिन्न्यायनीले भन्नुभयो । उहाँले अरु रोग लागेको मानिसलाई गेडागुडी खानु राम्रो भएपनि युरिक एसिडमा राम्रो नहुने, चिनी रोग लागेका मानिसमा आलु र चिनी नभएपनि गुडूची र अमला भने सेवन गर्न मिल्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले गत आर्थिक वर्षमा कार्यालयमा सेवा लिन आउने करिब एघार सय जनाले पथ्याहार सेवन गरेको जनाएको छ । कार्यालयमा सोमबार सञ्चालन हुने पथ्याहार कार्यक्रममा ३० देखि ४५ जना सेवाग्राही सहभागी हुने गरेका छन् ।
गत वर्षको पथ्याहार कार्यक्रममा तिलको लड्डु, योमरी, खीर, चैत महिनामा कोइराल साँधेको, मङ्सिर महिनामा अमिलो साँधेको र सिजन अनुसारको फलफुल समेत सेवन गराइएको कार्यालयले जनाएको छ । पथ्याहार कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको हालसम्म १३५ जना सेवाग्राही सहभागि भएको कार्यालयले जनाएको छ । पथ्याहार कार्यक्रमका लागि एक लाख रुपियाँ वजेट विनियोजन भएको छ ।