काभ्रे– असोज दोस्रो साता रोसी खोलामा आएको बाढीका कारण पूर्ण रुपमा क्षति भएको विपी राजमार्गको कटुञ्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुननिर्माण गरिने भएको छ । बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्ड पुननिर्माण गरिने भएको छ भने एक खण्ड पुननिर्माणको लागि जापान सरकारलाई अनुरोध गरिएको छ ।
डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुननिर्माणको लागि बोलपत्र आह्वान गरेको छ भने सिन्धुलीतर्फको एक खण्डको लागि पनि सूचना प्रकाशन भएको जनाएको छ । डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुण्डेबेशीदेखि चारसय बेशीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेशीदेखि चारसय बेशीसम्मको ८ दशमलव ५ किलोमिटर सडक पुननिर्माणको लागि टेण्डर (बोलपत्र) आह्वान भैसकेको बताउनुभयो । उहाँले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडक खण्ड पुननिर्माणको लागि बोलपत्रको सुचना प्रकाशन भैसकेको बताउनुभयो । “क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणको लागि सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब बजेट सुनिश्चितता आएको छ” सिडिई योगेशले भन्नुभयो । उहाँले विपी राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेशीसम्मको ५ दशमलव ५ किलोमिटर सडक पुननिर्माणको लागि जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको बताउनुभयो । उहाँले उक्त सडक खण्ड पुननिर्माणको लागि जापान सरकार लगभग तयार देखिएको बताउनुभयो ।
“बर्खेखोलादेखि डालाबेशी सडक खण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुन सक्ने भएकोले जाइकासँग अझै छलफलमा छ, अहिलेको अवस्था हेर्दा उनीहरुले गर्ने जस्तो देखिएकोले हामीले उक्त सडक खण्डको सुचना निकालेका छैनौँ” सिडिई योगेशले थप्नुभयो । उहाँले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङ मार्ग) बनाउन सकिने बताउनुभयो । उहाँले सडक पुननिर्माणको लागि सुचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताउनुभयो । डिभिजन सडकले क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माण गर्दा साविकको सडक ट्रयाकबाट नै सडक पुननिर्माण गरिने जनाएको छ । “विपी राजमार्ग पुननिर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तिमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाईको कालोपत्रे भएको र अर्को रोसी खोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसि पर्खाल लगाएर सडक निर्माण गरिनेछ” सिडिई योगेशले भन्नुभयो । उहाँले भकुण्डेदेखि नेपालथोकसम्मको पुननिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको बताउनुभयो ।
विपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुण्डेसम्मको साथै विपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको हो । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । विपी राजमार्गको खुर्कोटदेखि सिन्धुलीको चियाबासीसम्मको सडकलाई छोटो बनाउनका लागि सुरुङ मार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।
वर्षायाममा यातायात सञ्चालन गर्ने गरी काम
असोज १०–१२ गतेको अविरल वर्षासँगै आएको बाढीका कारण क्षति भएको विपी राजमार्गमा आसन्न मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाई बढाउने काम गरेको छ । कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँलगायतका डिभिजनबाट स्काभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरणहरु परिचालन गरेर सडक अस्थायी सडकको मर्मतको काम भईरहेको बताउनुभयो । “बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्नका लागि खोलाको वहाव परिवर्तनका साथै खोलामा रहेको निर्माण सामाग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भईरहेको छ” सिडिई योगेशले भन्नुभयो ।
उहाँले बैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाई बढाउनेलगायतको काम सम्पन्न हुने बताउनुभयो । उहाँले बाढीले क्षति पु¥याउन सक्ने र अप्ठयारो स्थानमा तारजाली राख्ने काम समेत भईरहेको बताउनुभयो । डिभिजन सडक भक्तपुरले असोज महिनाभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको जनाएको छ । कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्तिको व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुण्डेबेशी, तेमाल, मेच्छेपौवाहुँदै सिन्दुरेटारबाट बैकल्पिक सडक सञ्चालन गरिने जनाएको छ ।
–गोरखापत्र दैनिकबाट