पनौती–पनौती नगरपालिका वडा नं. १ मानेदोभानमा रहेको भालचन्द्र माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।
आज आयोजित विशेष समारोहमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विद्यालय भवन उद्घाटन गरे । नेपाल हिल्फे वाइलङ्ग्रिस जर्मनीको सहयोगमा विद्यालयको नयाँ भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माणका लागि २ करोड १६ लाख रुपैयाँ नेपाल हिल्फे संस्थाले सहयोग गरेको छ । भवनका लागि आवश्यक १९ लाख रुपैयाँ बराबरको फर्निचर पनौती नगरपालिकाले उपलव्ध गराउनेछ ।
भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले विद्यालयका लागि भवन निर्माण गर्ने संस्थाप्रति आभार प्रकट गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । नगर उपप्रमुख गीता बञ्जाराले विद्यालय भवन सुविधासम्पनन भएसँगै विद्यार्थीहरुका लागि पढ्न सहज वातावरण सिर्जना हुने बताइन् । कार्यक्रममा नेपाल हिल्फेका प्रमुख Manfred Linder ले विद्यालय भवन तोकिएको समयमै सकिएकोमा खुशी व्यक्त गर्दै थप विस्तारका लागि छलफल चलिरहेको बताए । सन् २०१३ मा पहिलोपटक भालचन्द्र माविको भवन निर्माण गरिएको र विद्यार्थीहरुका लागि अपुग देखिएकाले नयाँ भवन निर्माणका लागि सहयोग गरेको उनले बताए । विद्यालय भवनका लागि मर्मतसम्भार कोष स्थापना गर्न पनि उनले विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमवहादुर तामाङले चाँडै नै विद्यार्थीहरुको लागि स्कुल बसको व्यवस्था गर्न पहल भइरहेको बताउँदै विद्यालयलाई आफ्नो कार्यकालमा नमुना विद्यालयको रुपमा विकसित गर्ने प्रतिवद्धता जनाए । सबै समुदायको साथ र सहयोगले विद्यालय आजको अवस्थामा आइपुगेको भन्दै उनले विद्यालयको भवन निर्माणका लागि जग्गा दिने जग्गादाताप्रति विशेष आभार प्रकट गरे । विद्यालयका लागि सभा हल निर्माणका लागि पनि पहल भइरहेको उनले जानकारी दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिनाले हाल विद्यालयमा पूर्वप्राथमिक तहमा २७, आधारभुत तहमा १४२ र माध्यामिक तहमा ६० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई आधारभुत तथा माध्यामिक तहमा शत् प्रतिशत उत्तीर्ण गराउने, सिर्जनात्मक तथा अनुशासित भई उच्च शिक्षा हासिल गराउने र कामको संसारमा बिक्न सक्षम बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा विद्यालयको भवन निर्माणका लागि जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरिएको थियो भने नेपाल हिल्फेको टीमलाई पनि सम्मान गरिएको थियो ।