बजेट विनियोजन नभएपछि निर्माणाधिन सामुदायिक भवन अलपत्र


मेचीकाली

काभ्रेपलाञ्चोक– बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमा चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ । प्रदेश सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयले शहरी विकास तथा भवन कार्यालयमार्फत आ.व.२०७९÷०८० मा जिल्लामा सञ्चालन भएका र पुरा नभएका योजनामा यस वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन नहुँदा ती योजनाको काम अधुरो नै रहने भएको हो ।
गत आ.व.मा शहरी विकास तथा भवन कार्यालयमार्फत काम सुरु गरी काम पुरा नभएका छ वटा सामुदायिक भवनको काम पुरा गर्नका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन नगरेका कारण ती सामुदायिक भवनको काम अलपत्र पर्ने भएको हो । शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख ईन्जिनियर सन्तोष कुमार निरौलाले गत आ.व.मा निर्माण सुरु भएका र काम पुरा नभएका सामुदायिक भवन निर्माणको लागि चालु आ.व.का लागि बजेट माग गरेपनि मन्त्रालयबाट रकम विनियोजन नभएको बताउनुभयो । उहाँले मन्त्रालयबाट अधुरा सामुदायिक भवनका लागि रकम विनियोजन भएपछि ती भवनको काम अलपत्र पर्ने अवस्थामा रहेको बताउनुभयो । भातिक पूर्वाधार मन्त्रालयले चालु आ.व.का लागि बजेट विनियोजन नगर्दा बेथानचोक गाउँपालिका–३ मा निर्माणाधिन कुनेखर्क सामुदायिक भवन, महाभारत गाउँपालिका–३ फोक्सिङटारमा निर्माणाधिन सानोपोखरा महिला भवन निर्माणको काम नहुने भएको हो ।
यस्तै चौरीदेउराली गाउँपालिका–८ मा निर्माणाधिन पोटागैरा माझीवस्तीमा सामुदायिक भवन, चौरीदेउराली–५ मा रहेको सहिद स्मृति भवन निर्माण, मण्डनदेउपुर नगरपालिका–६ मा निर्माणाधिन कोदारी सामुदायिक भवन, पाँचखाल नगरपालिका–३ मा निर्माणाधिन महिला सामुदायिक भवनको काम पुरा गर्नका लागि चालु आ.व.का लागि कुनै बजेट व्यवस्थापन नभएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । गत आ.व.मा सुरु भई निर्माण सम्पन्न नभएका सामुदायिक भवनहरुमा कुनैमा गारो लगाउने, फिनिसिङ गर्ने, कुनैमा ढलान गर्ने तथा फिनिसिङको काम बाँकी रहेको कार्यालयले जनाएको छ । उपभोक्ता समितिमार्फत काम भएको  कुनेखर्क सामुदायिक भवनको निर्माण अन्र्तगत पिल्लर ठड्याएर भवनको तला ढलान गरेपनि गारो लगाउने तथा फिनिसिङ गर्नुपर्ने काम अधुरो रहेको छ । यस्तै महाभारतमा निर्माणाधिन महिला भवनको डिपिसि तथा पिल्लर उठाउने काम सम्पन्न भएपनि गारो लगाउने, ढलान गर्ने तथा फिनिसिङको काम बाँकी रहेको छ । यस्तै पूर्वाधार विकास मन्त्रालय अन्र्तगत नै नमोबुद्ध नगरपालिकाको दाप्चामा निर्माण भईरहेको पौडेल पाटी निर्माणका लागि गत आ.व. र चालु आ.वमा बजेट विनियोजन नहुँदा अलपत्र परेको छ ।

प्रतिक्रिया



थप समाचारहरु