काभ्रे–पाँच वर्षदेखि सर्वसाधारणले सास्ती बेहोर्दै आएको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अब भने कालोपत्रे हुने भएको छ । विगतमा ठेकेदारको लापर्वाहीका कारण निर्माण सम्पन्न हुन नसकेको यो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब चैतको ७ गतेदेखि सडकमा कालोपत्र गर्ने तयारी भएको छ । यससँगै सर्वसाधारणले धुलो र हिलोबाट मुक्ति पाउने भएका छन् ।
सडक कालोपत्रे गर्नका लागि डिभिजन सडक कार्यालय भक्तपुरले आज एक सूचना जारी गर्दै आगामी चैत ७ गतेदेखि २० गतेसम्म बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । चैत ७ गतेदेखि टिपर ट्रक लगायतका मालबाहक सवारीसाधनलाई भने २४ सै घन्टा सञ्चालनमा रोक लगाइएको छ । आज जिल्ला प्रशासन कार्यालय काभ्रेमा बसेको बैठकको निर्णय अनुसार सवारी सञ्चालनमा रोक लगाइएको सडक डिभिजन भक्तपुरका सूचना अधिकारी दिपक याकामीले जानकारी दिए ।
यो अवधिमा सडक कालोपत्रेको काम हुने डिभिजन सडक कार्यालयले जनाएको छ । लामो समय निर्माण अवरुद्ध भएको यो सडक निर्माण कार्य अहिले तीब्ररुपमा भइरहेको छ । सडक डिभिजन भक्तपुर र सिएम÷एवान÷काली जेभी काठमाडौँबीच सम्झौता भई सडक निर्माणको काम सुरु गरिएको थियो। सडक निर्माणको लागि निर्माण व्यवसायीसँग ३१ करोड ५६ लाख रुपैयाँको सम्झौता भएको छ ।
यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि खावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक÷पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपडि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत गए नि अदालतले सडक डिभिजनको पक्षमा फैसला गरेपछि नयाँ ठेक्का लगाइएको हो ।