काभ्रे–काभ्रेको बनेपा र मण्डनदेउपुर नगर अस्पताल स्वास्थ्य बिमा कार्यक्रममा सुचीकृत हुने भएका छन् । सरकारले स्वास्थ्य बिमामार्फत उपचारका लागि सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेसँगै यी दुई अस्पतालले बिमा कार्यक्रममार्फत उपचारका लागि प्रक्रिया तीब्र बनाएका थिए ।
स्वास्थ्य बिमा बोर्डले दुबै नगरपालिकालाई सम्झौताका लागि पत्राचार गरेको छ । भदौ १ गते दिउँसो १ बजे बिमा बोर्डमा सम्झौताका लागि बोलाइएको छ । बिमा कार्यक्रममार्फत उपचारका लागि दुबै नगर अस्पतालले आवश्यक तयारी लगभग सकेको बताइएको छ । यसअघि नै बिमामा आवद्ध भएर प्रथम सेवा विन्दु तोकिएको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले भने एक महिना वितिसक्दा पनि सेवा अघि बढाउन सकेको छैन ।
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले भने धुलिखेल अस्पतालबाटै साउन २६ गतेदेखि बिमाको सेवा सुरु गरेको छ । प्रथम सेवा विन्दु तोकिएको पनौतीको सुन्थान र खोपासीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रले भने साउन १ गतेदेखि नै बिमाको रेफरल सेवा दिइरहेका छन् ।