धुलिखेल– काठमाडौं विश्वविद्यालय केयूको ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
केयूको ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) यही मंसिर २४ गते हुँदैछ । दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुनेछ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुने कार्यक्रम छ । समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता ग्रहण र दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको छ । रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्ने समारोहमा उपकुलपति प्रा. डा अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य दिनेछन् ।
समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३. स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यस पटक दीक्षित हुनेछन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत ( १ हजार १ सय ५४ जना र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहनेछन् । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहनेछन् ।
काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत Master of Philosophy by Research in Mathematics मा १ जना र Bachelor of Science in Agriculture मा २९ जना दीक्षित हुनेछन । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक Master of Medical Research मा २० जना दीक्षित हुनेछन् । ३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ ।
दीक्षान्त समारोहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केयूका उपकुलपति प्रा.डा अच्युत वाग्ले, रजिष्ट्रार प्रा.डा राजीव श्रेष्ठ, प्रवक्ता डा. उद्धव प्याकुरेल लगायतले स्वदेशी विद्यार्थीलाई स्वदेशमै रोक्न र विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने कार्यक्रमहरु ल्याएको बताए ।