काभ्रे–काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद उत्कर्षमा पुग्दै गर्दा विवाद समाधान गर्न काभ्रे क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् ।
देशकै दुई राम्रा संस्थाको पहिचान बनाएका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल आपसी विवादले दुबै संस्था ओरालो यात्रा उन्मुख भएको भन्दै बाँस्कोटाले चिन्तासमेत व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक र एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले एक अर्कोको सहयोग विना दुबै संस्था अधुरा रहेको पनि उल्लेख गरे । दुबै संस्थाबीचको संस्थागत सम्झौता करिव भंग गरिएकोले व्यवस्थापन र गुणस्तर नराम्रो असर पर्दै छन् भन्दै उनले सरकारले तत्काल सार्थक र सकारात्मक कदम चाल्नुपर्ने बताएका छन् ।
एक साताअघि मात्रै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका थिए । काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका थिए ।
धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।
दुई संस्थाबीच चिसोपना बढेपछि विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि छुट्टै शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेको थियो । विश्वविद्यालयले छुट्टै शिक्षण अस्पताल सञ्चालनको लागि भन्दै सरकारसँग चालु आर्थिक वर्षका लागि ५० करोड रुपियाँ बजेट माग गरेको थियो । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले जेठ ६ गते विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई पत्र लेख्दै विश्वविद्यालयको प्रत्यक्ष व्यवस्थापनमा अस्पताल सञ्चालन र स्वास्थ्य सेवा सुचारु गर्नका आगामी आवको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गर्न अनुरोध गरेका थिए । विश्वविद्यालयले प्रधानमन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले विभिन्न नियामक निकायहरूबाट हालसम्म सञ्चालन अनुमति पाएका ४५० शैय्या अस्पतालमध्ये धुलिखेल अस्पतालले अनुमति पाएको जम्मा ५० शैय्या छोडी चार सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्ने जनाएको उल्लेख गरेको थियो । धुलिखेल अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भयो भने सो प्रतिष्ठान र विश्वविद्यालय दुवै संस्थाका मेडिकल शिक्षा कार्यक्रमहरु एकै अस्पतालको सुविधाबाट सञ्चालन गर्न नपाइने जनाइएको छ । ‘चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकिकृत कार्यविधि २०७९’को दफा १२१ (ट) यस्तो कार्य गर्न गर्न बन्देज लगाएको विश्वविद्यालयले उल्लेख गरेको छ ।
संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको ५० शैय्याको धुलिखेल सामुदायिक अस्पताल र विश्वविद्यालयबीच २०५९ चैत १९ गते ५० वर्षीय सहकार्य सम्बन्धी सम्झौता भएको थियो । धुलिखेल अस्पतालसँग सम्झौता भएपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालले विश्वविद्यालयसँगको सम्झौता एकतर्फ रुपमा तोडेको थियो । आर्थिक वर्ष २०६६÷०६७ देखि बी एण्ड बी अस्पतालमा सञ्चालित एमबिबिएसलगायतका सबै प्राज्ञिक क्रियाकलाप धुलिखेल अस्तालमा स्थानान्तरण गरी विश्वविद्यालयको मेडिकल कार्यक्रमका लागि शिक्षण अस्पतालको रुपमा धुलिखेल अस्पताललाई मुख्य साझेदार हुने व्यवस्था गरिएको थियो । दुई संस्थाबीचको साझेदारीलाई निरन्तरता दिने क्रममा ५० शैय्याको अस्पताललाई ४५० शैय्या र विद्यार्थी भर्नाको ४० जनाको सिटलाई बढाएर एक सयमा पु¥याएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले आव २०६४÷०६५ यता शिक्षण अस्पतालका कार्यक्रम सञ्चालन र पूर्वाधार विकासका लागि करिब सात अर्ब २५ करोड रुपियाँ निकाशा गरेको विश्वविद्यालयको दावी छ ।