काभ्रे–१२२ वर्षअघि बनेपाको एउटा घरबाट सुरु भएको परम्परालाई निरन्तता दिँदै आज काभ्रेमा हजारौं कन्या पूजिएका छन् । कन्या पूजा पछिल्लो समय निरन्तरमात्र भएको छैन, जिल्लाका अन्य भेगमा पनि विस्तारित हुँदै गइरहेको छ ।
आज बनेपामा मात्रै ७ हजार कन्या एकसाथ पूजिएका छन् । जिल्लाका पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाको विभिन्न स्थानमा गरी १० हजार भन्दा बढी कन्या पूजिएका छन् । बनेपामासनातन कन्या पुजा प्रबन्ध समितिले कन्या पूजा आयोजना गर्दै आएको छ । आज बनेपामा करिब सात हजार कन्याहरु पुजिएको समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी र्दि ।
कन्याहरुको सुख, शान्ति, समृद्धि र निरोगिताको लागि सनातन कन्या पुजा प्रबन्ध समितिले हरेब वर्ष कृष्णजन्माष्टमीको दिनमा कन्या पुजा गर्दै आएको वैद्यले बताए । बनेपालीहरुले वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याहरुको पुजा गर्दै आएका छन् । रजस्वला नभएका कन्याहरुको पुजा गर्नाले उनीहरुमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको पाइन्छ भने यो पुजामा सहभागी भएका कन्यामा रहको रोग समेत हटेर जाने विश्वास रहको छ । कन्याहरुलाई विशेष गरि स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु दिनुको साथै उनीहरुको टाउकोमा तेल हालिदिएर उनीहरुको पुजा गरिँदै आएको सचिव बैद्यले बताए ।
किंवदन्ती अनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्या मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।