पनौती-पनौती नगरपालिकाको वडा नं २ र १२ मा संचालनमा रहेका तिनवटा रोडा ढुंगा उद्योग पनौती नगरपालिकाले आज बन्द गराएको छ । खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको र पटक पटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकोले अर्को निर्णय र आदेश नभएसम्मका लागि सो उद्योगहरु आजबाट बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
बन्द गराइएका उद्योगहरूमा श्री डाइमण्ड स्टोन माइनिङ प्रा.लि. पनौती-२, श्री भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. पनौती-१२ रश्री दिपलक्षमी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. पनौती-१२ रहेका छन् ।
नगरपालिकाले आजै ती उद्योगहरू बन्द गराउने निर्णय गरेको थियो ।
उद्योग बन्द गराउन नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा अध्यक्ष २ का पुरूषोत्तम अधिकारी र १२ का जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा लगायत कर्मचारी तथा प्रहरीको टोली पुगेको थियो ।