धुलिखेल–नेपाल शैक्षिक परामर्श संघ इक्यान काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्वाचित भएका छन् ।
आज धुलिखेलमा सम्पन्न प्रथम साधारणसभा एवं अधिवेशनले रायमाझीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा बालकृष्ण न्यौपाने र कोषाध्यक्षमा अशोक तिमल्सिना निर्वाचित भएका छन् भने सदस्यहरुमा मनोज अधिकारी, श्यामहरि रम्तेल र आशिष लामा निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन शत्र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा समन्वय समिति प्रमुख गौतमले विदेश जाने विद्यार्थीलाई नेपाल चिनाउन र नेपालको पर्यटनमा भुमिका खेल्ने वातावरण बनाइदिन इक्यानलाई आग्रह गरे । आज सबै विद्यार्थी विदेश जान चाहनुको कारण खोज्नु पर्ने दिन आएको भन्दै उनले पढ्दै कमाउँदै र रमाउँदै अघि बढ्ने वातावरण नहुनु बिद्यार्थी विदेशिनुको कारण रहेको बताए ।
कार्यक्रम इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । इक्यान काभ्रेका संयोजक भुवन रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रम इक्यानका केन्द्रीय महासचिव दिपकराज भुसालले सञ्चालन गरेका थिए ।