३ जिल्लाका चार पालिकाको पहल : २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष’को रुपमा मनाइने


मेचीकाली

नगरकोट । तीन जिल्लाका चारवटा पालिकाको आयोजनामा पर्यटकीय क्षेत्र नगरकोटमा आउँदो नयाँ वर्ष २०८२ बैशाख १ गतेदेखि एक वर्षसम्म ‘नगरकोट भ्रमण वर्ष–२०८२’ भव्यरुपमा मनाउने तयारी गरिएको छ । यो भ्रमण वर्षको आयोजकको रुपमा भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेका मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिका रहेका छन् । 

नगरकोट भ्रमण वर्ष २०८२ को राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा वैशाख १ गते समुद्घाटन हुनेछ । उद्घाटन समारोह वैशाख २ र ३ गतेसम्म चल्नेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको हो । यो कार्यक्रमको प्रवद्र्धकमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् । शुक्रबार नगरकोटमा आयोजित एक पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो । 

भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबाको संयोजकत्व तथा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य र शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितको नेतृत्वमा संयुक्त मुल आयोजक समिति गठन गरिएको छ । 

जसमा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिका उपप्रमुख रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहाल र शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ तथा चार वटै नगरपालिका प्रमुख प्रशाकीय अधिकृतहरु पनि रहनु हुनेछ । नगरकोटसँग जोडिएका वर्तमान वडाध्यक्षहरु, नाल्दुम पर्यटन विकास समितिका अध्यक्षसहित पदाधिकारी, वर्तमान जनप्रनिनिधि, पूर्वजनप्रतिनिधि, स्थानीय सामाजिक संघसंस्थासमेत गरी १ हजार १ सय १ सदस्यीय संयुक्त मुल आयोजक समितिका साथै बिभिन्न नौ वटा उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

'Nagarkot is more than sunrise' भन्ने मुल नाराका सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल सरकारले यसै भ्रमण वर्ष २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत मुख्य लक्ष्य राखिएको मूल आयोजक समितिका संयोजक टोकबहादुर वाइवाले बताउनु भयो । नगरकोटसँगै यी ४ वटा नगरपालिकाको पर्यटन, कृषि पर्यटनलगायत यहाँका बिभिन्न जातजाति, भेषभूषा, जात्रा, पर्व र संस्कृति पहिचान गरि यसको उजागर गर्दै गाउँगाउँमा रहेका होमस्टेको विस्तार गर्ने, पर्यटकको बसाई लम्ब्याउने गरि भ्रमण वर्ष मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षभर कम्तीमा एक लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि वाइवाले बताउनु भयो । 

नयाँ वर्ष २०८२ सालको वैशाख १ गतें बतासे डाँडा (नगरकोट सनराइज भ्यू पार्क) मा भव्य समारोहकाबीच भ्रमण वर्षको शुभारम्भ हुनेछ । वैशाख २ गते चर्चित लोकदोहोरी साँस्कृतिक समूह इन्द्रेणीले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ भने बैशाख ३ गते प्रसिद्ध गायक प्रकाश सपुतसहितका स्थानीय कलाकारहरुले साँगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

भ्रमणको शुभारम्भका दिन ५० भन्दा बढी स्टलहरु रहनेछन् । फुड स्टल तथा स्थानीय कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय, प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी प्रदर्शनी गरिनेछन् । चारवटै पालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १०० जना कलाकारलाई नगरकोट वरपरका सम्पदा भ्रमण गराई उक्त सम्पदाको चित्र क्यानभासमा कोरिने र प्रदर्शनी गरिने छ । साथै कला संग्रहालयको पनि स्थापना गरिनेछ । 

भ्रमण वर्ष सफल पार्न आवश्यक खर्च चारवटै नगरपालिका र नगरकोट क्षेत्रको पर्यटन व्यवसायीहरुसमेतको साझेदारी रहने बनेपाका प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । भ्रमण वर्षभरि चार वटै पालिकामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन हुने पनि उहाँले जानकारी दिनुभयो । शाक्यका अनुसार पुसमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को विदाई र २०२६ को सूर्योदयका अवसरमा चारवटै पालिकाको सहभागितामा नगरकोटमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । 

नगरकोट भ्रमण वर्ष–२०८२ को अन्तिम महिना अर्थात चैत महिनामा राष्ट्रिय सहकारी दिवसलाई विशेष एवं सिर्जनात्मकरुपमा विविध कार्यक्रमको आयोजना गरिनुका साथै नगरकोट भ्रमण वर्ष–२०८२ स्मारिका प्रकाशन गरिने मण्डनदेउपुर नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईंले जानकारी दिनुभयो । 

चारवटै पालिकाबाट नगरकोट आवतजावतका लागि मुख्य सडक लामो समयदेखि निर्माणमा डिलासुस्ती रहेको अवस्थामा हाल चाँगुनारायण नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट कालोपत्रेको प्रक्रिया सुरु गरेको कार्यक्रममा जानकारी दिइयो । साथै विभिन्न वैकल्पिक सडकहरुको स्तरोन्नती गरिएको छ । चारवटै पालिकाहरुबाट नगरकोट आउने पदमार्गहरुसमेत रहेकाले पर्यटकहरु पदमार्गको प्रयोग गरेर पर्यटकीय आनन्द लिन सकिने आयोजकले जनाएको छ । नगरकोट भ्रमण वर्षले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाको सम्वृद्धिको यात्रालाई जोडेर लैजान सफल हुने विश्वास आयोजकले लिएको छ ।

नगरकोट भ्रमण वर्षलाई लक्षित गरि नगरकोटमा आन्तरिक पर्यटकलाई अझै सुविधा दिने गरि नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा संचालन गरिएको छ भने होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधीभर नगरकोट आउने पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । चार वटा नगरपालिकाभित्र विभिन्न महत्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक पौराणिक, आध्यात्मिक, साँस्कृतिक र ऐतिहासिक क्षेत्रहरु चिनारीको रुपमा रहेका छन् । चारवटै नगरपालिका क्षेत्रभित्र पर्ने प्राकृतिक वन जंगलले घेरिएको पर्यटकीयस्थल नगरकोटमा हाल पर्यावरणीय मनोरम दृष्यावलोकन, हिमाली दृश्यहरु, सूर्योदय र सूर्यास्तका मनोरम दृष्यावलोकनका लागि आन्तरिक एवं विदेशी पर्यटकको आगमन हुने गरेको छ । भ्रमण वर्षले यहाँ पर्यटकको उपस्थिती थप बढ्ने आयोजकको दाबी छ ।

 


प्रतिक्रिया



थप समाचारहरु

 

धुलिखेलमा युवा महोत्सव सुरु