धुलिखेल–खावा सडकबारे प्रधानमन्त्रीको चासो, ठेकेदार बोलाएर कुरा गर्ने


मेचीकाली

पाँचखाल– प्रधानमन्त्री प्रचण्डले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकबारे  चासो व्यक्त गरेका छन् । काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह सकेर पाँचखालमा औद्योगिक पार्क शिलान्यास गर्न पुगेका प्रधानमन्त्रीले सडकको अवस्थाबारे सुरक्षा निकाय र ट्राफिसकसँग आफूले सोधेको बताए ।

सडक निर्माणमा भइरहेको ढिलाई अन्त्यका लागि ठेकेदारसँग कुरा गर्ने प्रतिवद्धता प्रधानमन्ी प्रचण्डले जनाएका छन् । उनले चाँडो भन्दा चाँडो सडक निर्माणको वातावरण बनाउने बताए ।

प्रधानमन्त्री प्रचण्डले काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ७ मा महिला हरित औद्योगिक पार्क शिलान्यास गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा पार्क निर्माण हुन लागेको हो । यस्तो पार्क नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो पार्क हो ।

पार्क शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको बताए । अहिले आफ्नो जोड जल विद्युत क्षेत्रमा रहेको भन्दै उनले सरकारले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेको तथा  त्यस्तै चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको बताए ।

 देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु नपर्ने उनले बताए । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ रहेको भन्दै उनले भने ‘मैले ‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भन्दा धेरै मान्छेले पत्याएनन्, कतिले त्यसलाई हाँसोठट्टाको विषय बनाए । तर प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरियो ।’

महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा नेपालमा महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना हुन गइरहेको छ । यस्तो पार्क नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो रहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । 

नेपाल सरकारको औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखालमा निर्माणधिन यस औद्योगिक पार्कलाई ‘‘महिला औद्योगिक ग्राम’’का रूपमा स्थापना गर्न मेरो नेतृत्वमा रहेको मन्त्रिपरिषदले २०८० जेठ २४ मा निर्णय गरेको थियो । यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको छ । यस महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमासमेत प्रवद्र्धन गरिनेछ । म यसका लागि महिला उद्यमी हरित औद्योगिक पार्कमा संलग्न साथीहरू र पाँचखाल नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिलाई आभार व्यक्त गर्दछु ।

इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने यस परियोजनामा हालसम्म हरित औद्योगिक पार्कको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा भएको जानकारी मैले पाएँ ।

यस पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ । जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ । यसमा  विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन तथा प्रत्यक्ष स्थानीय परम्परागत खाना प्रदर्शन हुनेछ । 

दोस्रो उत्पादन क्षेत्र अन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापनाले राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । यसैगरी  सूचना प्रविधि क्षेत्र अन्तर्गत औद्योगिकको पार्कको भर्चुअल बजारमार्फत् स्थानीय उत्पादक र कृषकहरूले प्रत्यक्ष कारोबार गर्न र आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्नेछन् ।

नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य छ । धुलो, ध्वनी प्रदूषण मुक्त औद्योगिक ग्राम जहाँ फोहोरको सफल व्यवस्थापन हुनेछ । वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ । यसैगरी नवीकरणीय ऊर्जाको प्रयोग गरिने छ भने शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ । साथै कृषि उत्पादनमा जोड दिँदै कृषिमा आधारित नमुना उद्योगहरू स्थापना गरिनेछ । यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास गरेको छु ।

केही समय पहिले म भारतको औपचारिक भ्रमणको शिलशिलामा भारतको सफा शहरको पहिचान बनाएको इन्दौर शहर पुगेको थिए । इन्दौरमा फोहरलाई सफल व्यवस्थापन गरेर त्यसवाट मल र बिजुली उत्पादन गरिएको छ । हरियाली, सफा र व्यवस्थित शहरभित्रकै औद्योगिक ग्राममा पनि हाम्रो भ्रमण भयो । पाँचखालमा औद्योगिक ग्राम स्थापनाको सफलतापछि यसैगरी नेपालका विभिन्न प्रदेश र स्थानीय तहसम्म पनि नमुना औद्योगिक पार्कहरूको स्थापना गर्न सकिनेछ ।

देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्नेछ । पछिल्ला वर्षहरूमा गाउँ गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढ्दो छ । यसको असरका रूपमा गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाने समस्या थपिएको छ । 

पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने जुन योजना अघि सारेको छ, यो नेपालकै लागि नमुना हुन सक्छ र सक्षम युवाहरुलाई गाउँमै काम गर्ने अवसर दिनेछ भन्ने ठानेको छु । यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने पनि विश्वास लिएको छु । 

वर्तमान सरकार हरतरहले मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायिक कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आइरहेको छ । अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गरायो । र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको छु । 

आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी छ । पक्कै पनि आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने र त्यसले कृषिमा आधारित सयांै उद्योगहरू स्थापना गर्न मद्दत पुग्नेछ । 

नेपाल प्राकृतिक रूपमा विविधतायुक्त र सम्पन्न छ । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ । हामीले त्यसलाई सही ढंगले उपयोग गर्न सक्दा सम्भावनाका धेरै ढोका खुल्ने अवस्था छ । प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञानिक कृषि, कृषिमा यान्त्रिकीकरण र जैविक विविधताको अनुसन्धानमार्फत देशको समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

अहिले मेरो जोड जल विद्युत क्षेत्रमा छ । हामीले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेका छौं । त्यस्तै चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको छ । देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु पर्दैन । म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो । मैले ‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भन्दा धेरै मान्छेले पत्याएनन्, कतिले त्यसलाई हाँसोठट्टाको विषय बनाए । तर प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरियो ।

अहिले पनि सरकारले केही प्रतिज्ञा गरेको छ । यसपटक मैले भन्ने गरेको छु– ‘‘मेरो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुनेछ ।’’ मैले यो पनि भनेको थिएँ– मैले राम्रा काम मात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु र देश बनाउने यात्रा निरन्तर जारी छ । 

अन्त्यमा म यस महिला उद्यमी हरित औद्योगिक पार्कको निर्माण समयभित्रै सम्पन्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दै यहाँहरू सबैमा शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।


प्रतिक्रिया



थप समाचारहरु