युक्रेनी सेनाको नियन्त्रणमा काभ्रेका सिद्धार्थ ढकाल


मेचीकाली

काठमाडौँ - युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको छ । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन् । ८ जना नेपालीले युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयको दाबी छ ।


रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई मंसिर १७ गते ‘रेड जोन’बाट नियन्त्रणमा लिइएको हो । युक्रेनको कब्जामा भएदेखि सिद्धार्थसँग सम्पर्क नभएको दाइ नवराज ढकालले बताए । ‘सिद्धार्थलाई आइतबार स्थानीय समयको बिहान ११ बजे युक्रेनको सेनाले लिएर गएको भिडियो पठाइदिएको हो,' नवराजले भने । युद्धस्थलमा घाइते भई उपचाररत एक नेपालीले भिडियो पठाइदिएका थिए । सिद्धार्थ तालिम लिई युद्ध लड्न रेड जोनमा पहिलोपटक गएको नवराजले बताए ।


भिडियोमा सिद्धार्थले आफू सकुशल भएको बताएका छन् । ‘म अहिलेसम्म सकुशल छु । पछि के हुन्छ थाहा छैन,' भिडियोमा सिद्धार्थले भनेका छन्, ‘मैले बुबाआमालाई एकदमै सम्झिएको छु । मेरो उद्धारको लागि सरकारलाई भनेर पहल गरिदिनुहोला ।’ नवराजका अनुसार सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका हुन् । उनले सिद्धार्थको कलेज शुल्क दलालले नतिरिदिएपछि रुसी सेनामा भर्ती भएको बताए । ‘भाइको सकुशल उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आग्रह गरेको छु,' उनले भने ।


यसैगरी रुसको रक्षा मन्त्रालयका अनुसार चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी, सुशान्तकुमार राहपाल फरार भएका छन् । यसको स्वतन्त्र पुष्टि भने भएको छैन । उनीहरू तालिम लिई रुसको रोस्तोभ क्षेत्रमा थिए । ती सबैले आधुनिक हतियार चलाएको रुसको दाबी छ । उनीहरु गत १४ अक्टोबरमा रुस पुगेका थिए भने १७ नोभेम्बरबाट सर्म्पकविहीन छन् । नेपाली दूतावासले उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।

-इकान्तिपुर डटकमबाट 

प्रतिक्रिया



थप समाचारहरु