वर्दियाका विवेकबारे बोल्यो युक्रेन, काभ्रेका सिद्धार्थको अवस्थाबारे अत्तोपत्तो छैन


मेचीकाली

काठमाडौं– युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । 

तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त उसले राखेको छ । नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढकालको रिहाइका लागि कूटनीतिक प्रयास गरेकामा युक्रेन सरकारले यस्तो सन्देश पठाएको हो । उसले ढकालको गिरफ्तारीबारे भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युक्रेनले रुसी सेनामा कार्यरत रहेका अन्य विदेशी नागरिक पनि आफ्नो नियन्त्रणमा रहेको र उनीहरू सबैलाई रिहा गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै नेपालीलाई मात्रै विनासम्झौता छाड्न नसकिने सन्देश पठाएको छ । 

खत्रीलाई अपराधीका रूपमा नेपालले स्वीकार गर्ने र उनलाई जेलमा राख्ने सर्तसहित नेपाल र युक्रेनबीच समझदारीपत्र एमओयू हुनुपर्ने युक्रेनको प्रस्ताव आएको रर यसमा के गर्ने भन्ने निक्र्योल गर्न बाँकी रहेको परराष्ट्रका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारे जानकारी गराइसकेको छ ।स्रोतका अनुसार रुसी सेनामा भर्तीका लागि नेपालीहरू रुस गएको विषयमा युक्रेनले असन्तुष्टि जनाएको छ । बर्दियाका खत्री असोज अन्तिम सातादेखि र काभ्रेका ढकाल मंसिर दोस्रो सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन् ।

यसैबीच, रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएका ६ नेपाली सैनिकका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको छ । यसका लागि लामो प्रक्रिया पार गर्नुपर्ने जानकारी रुसले नेपाललाई पठाएको छ । रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया र राजकुमार रोका, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की र इलामका गंगाराज मोक्तानको युद्धका क्रममा मृत्यु भएको थियो । उनीहरूको शव नेपाल पठाउन नेपालले आग्रह गरे पनि रुसले भने युद्धको अवस्थामा उनीहरू मारिएको र युद्ध जारी रहेको अवस्थामा यो सम्भव नरहेको मौखिक जानकारी दिएको छ । –नयाँ पत्रिकाबाट 


प्रतिक्रिया



थप समाचारहरु