दशैं नलाग्दै गरुड टोली ‘मामाघर’मा


मेचीकाली

धुलिखेल/दशै नआउँदै सहकारी मार्फत सर्वसाधारण ठगी गर्ने गिरोहका मुख्य नाईके, सहकारीका अध्यक्ष र आफ्नै श्रीमतीलाई प्रमुख कार्यकारी अधिकृत बनाउँदै मासिक डेढ लाख तलब भुक्तानी गर्दै, सहकारी डुब्न लागे पछि श्रीमतीसँगै सम्वन्ध विच्छेदको नाटक रचेर एउटै ओछ्यानमा सुतिरहेका भक्तपुर निवासी बासुदेव खड्का र उनकी श्रीमती प्रतिमा आचार्यलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले शुक्रबार राति ८.३० बजेसम्म भएको बहस पछि पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको छ । 

    सर्वसाधारणलाई धेरै ब्याज दिन्छु भन्दै प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएका बासुदेव खड्काले एक पछि अर्काे गर्दै जग्गा खरिद गरेका थिए । सहकारीकै रकमले मोजमस्ती गर्ने, शेयरमा लगानी गर्ने, जग्गा किनबेच गर्दै आएका खड्का जग्गा कारोवारमा सरकारले गरेको फरक नियम पछि सहकारी छाडेर भागेका थिए । भागेकै अवधीमा नाटकिय रुपमा श्रीमतीसँग सम्बन्ध विच्छेद गरी सहकारीबाट खरिद गरेको सम्पति अंश बापत उपलब्ध गराएका थिए । तर पनि उनले सर्वसाधारणको रकम फिर्ताका बारेमा चासो दिएनन् । कार्यालय रहेको घरका घरबेटीको पनि लाखौ रकम बचत थियो । उनले पनि ताला लगाए । अरु सर्वसाधारणको ओईरो लाग्यो । उनि अरु संचालक र कर्मचारीलाई देखाउँदै फरार भए । सबै कर्मचारी र संचालकलाई समेत गुमराहमा राखेर उनले करोडौ रकम जग्गा लगायतका क्षेत्रमा लगानी गरेको श्रोतले बतायो । अहिले सर्वसाधारणले जग्गा लिन खोज्दा पनि उनले दिन सकेका छैनन । 

    जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ परेका ५ जना सहित फरार ८ जनालाई सहकारीको रकम हिनामिना गरी शेयर सदस्यहरुलाई फिर्ता नगरेको अभियोगमा दर्ता भएको ठगी मुद्दामा पुर्पक्षका लागि जेल पठाउने आदेश ग¥यो । केहि दिन अघि मात्रै प्रमुख जिल्ला न्यायाधिशको जिम्मेवारी पाएका न्यायाधीश राजेन्द्र नेपालले सर्वसाधारणको रकम फिर्ता नगरी हिनामिना गर्ने उनै खड्का, श्रीमती आचार्य सहित पक्राउ परेका अन्य तीन जनालाई पुर्पक्ष पठाउने आदेश गरे । खड्काका तर्फबाट केहि विचौलियाहरुले केहि दिन अघि देखि अदालत, सरकारी वकिल र प्रहरीलाई मिलाउन भन्दै रकम संकलन गरेका थिए । अदालतले त्यसको बेवास्ता गर्दै पुर्पक्ष पठाए पछि विचौलियाहरु हतास भएका छन् । सहकारीका बचतकर्ताहरुले उक्त आदेशको स्वागत गरेका छन् तर बचत कहिले फिर्ता हुन्छ भन्ने तनाव झन थपिएको छ । दशंैको जमरा राख्ने बेलासम्म बचत फिर्ता नहुँदा बचतकर्ताहरुलाई एक खालको तनाव छ भने संचालक र कर्मचारीलाई दशैका बेला जेलको हावा खान मामाघर जानु पर्दा अर्काे तनाव भएको छ । बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुड सहकारीबाट खड्का र आचार्यले २५ करोड अपचलन गरेका हुन् । बासुदेवलाई असोज १ गते जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो । ‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरुड सहकारीका अध्यक्ष सहित पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ’– जिल्ला अदालत काभ्रेपलाञ्चोकका अधिकृत सूचना अधिकारी अप्सरा चापागाईले भनिन–‘प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले गरुड सहकारी ठगि अभियोगमा पक्राउ परेकाहरुलाई थुनामा पठाउने आदेश गरेको छ ।’ 

    श्रीमान श्रीमती मिलेर बचतकर्ताहरुको रकम हिनामिना गरेको भए पनि कानूनी र कागजी रुपमा संस्थामा संलग्न भएका आधारमा पक्राउ परेका अन्य तीन जनालाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ भने बाँकी ८ जना फरार रहेका छन् । प्रहरीले १३ जनाको संलग्नता रहेको बताउँदै ठगी मुद्दा दर्ता गरेको थियो । थुनामा पर्नेमा संस्थाका सदस्य बच्चुराम विष्ट, ब्यवस्थापक रामगोपाल थापा र पुर्व ब्यवस्थापक राजिव विष्ट छन् । प्रहरीले मुद्दा दर्ता गरी फेला नपरेकाहरुमा सस्थाका उपाध्यक्ष बेदप्रसाद सिग्देल, कोषाध्यक्ष राजेश श्रेष्ठ, सचिव सलिना थापा र सदस्य दिपाकुमारी आचार्य छन् । त्यस्तै लेखा अधिकृत विदुर थापा, कर्मचारी अनु भण्डारी, कर्जा सहायक समुन सिग्देल र सेवा केन्द्र प्रमुख सरिता दाहाल रहेका छन् । उनिहरु सबै फरार छन् । पक्राउ परेर थुनामा गएकाहरुले कर्मचारी तथा संचालक कसैलाई पनि जानकारी नदिई एकलौटी रुपमा अध्यक्ष बासुदेव खड्का र उनकै श्रीमती प्रतिमा आचार्यले रकम हिनामिना गरेको बताएका छन् । 

के हो घटना ? 

    बचतकर्ताहरुले रकम फिर्ता मागे पछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर ५ करोड बराबरको सम्पति दिएको खुलासा भएको थियो । सम्वन्ध विच्छेद गरेकी श्रीमती केहि दिन आफै पक्राउ पर्नु अघि सम्म प्रहरी हिरासतमा श्रीमान् खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी थिईन् । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले सहकारी सम्वन्धी ठगीका उजुरी आईरहेकाले अनुसन्धान गरिरहेको बताए । गरुड लगायतका अन्य सहकारीका बारेमा पनि अनुसन्धान भईरहेको उनले बताए । बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्वरमा दर्ता छ । उक्त सहकारीमा बचत गरेको रकम समयमा फिर्ता नभएको भन्दै केहि महिना अघि देखि बचतकर्ताहरु आन्दोलित थिए । नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनिहरुले उजुरी गरेका थिए । 

    ५२ जना बचतकर्ताको लिखित उजुरी पछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको थियो । त्यतिबेला संस्थाका अध्यक्ष बासुदेव खड्का फरार थिए । उजुरी गर्ने बचकर्ताहरुको ४ करोड ९२ लाख ४ हजार २ सय ६८ रुपैया फिर्ता नगरेको उल्लेख छ । श्यामकृष्ण सिलवाल सहितले अध्यक्ष बासुदेव खड्का सहितले ठगी गरेकाले नीजलाई पक्राउ गरी ठगी मुद्दामा कानून बमोजिम कारवाही गर्न माग गरेका थिए । अहिले अन्य बचतकर्ताहरुले समेत दिएको उजुरीका आधारमा खड्काले १० करोड जति बचत फिर्ता गर्नु पर्ने देखिएको छ भने १८ करोड भन्दा धेरै आफै अरुका नामको ऋण अपचलन गरेको देखिएको छ । भक्तपुर जिल्ला दधिकोट गाविस ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्वर ४ घर भएका खड्का ४० वर्षका छन् । उनले खोलेको गरुड सहकारीमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई कर्मचारीका रुपमा नियुक्ति गरेका थिए । 

    त्यहि क्रममा नियुक्ति गरिएका बनेपा १३ भैसेपाटीका राजिव विष्टलाई केहि समय पछि बासुदेवको श्रीमती पवित्रा आचार्यलाई अध्यक्ष राखेर खोलिएको छायाँश्वेरी सहकारीको ब्यवस्थापक बनाए । केहि समय छायाँश्वरी संचालन गरे । छायाँश्वरी सहकारीको दर्ता नम्वर २३९४ थियो । बनेपा १० मा रहेको गरुड र सोहि ठेगानामा रहेको छायाँश्वरी सहकारी बीच २०७७ माघ ८ गते एकिकरण घोषणा गरिएको थियो । कार्यरत राजिवलाई त्यहि समय देखि बासुदेव खड्काले हटाएका थिए । यता ब्यवस्थापकका रुपमा भक्तपुर सुर्यविनायक १० घर भएका रामगोपाल थापालाई नियुक्ति गरेका थिए । गरुडको कार्यकारी अधिकृतमा बासुदेव खड्काकै श्रीमती प्रतिमा आचार्यलाई नियुक्ति गरिएको थियो । कार्यालयमा नआए पनि उनका नाममा हरेक महिना पारिश्रमीक उपलब्ध गराउने गरिएको थियो । एकीकरणका क्रममा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले संस्था एकीकरणका २१ बुँदे शर्त राखेर गरुड बचतका नाममा पत्र काटेको थियो । २०७७ माघ ८ गते जारी भएको उक्त पत्रमा उल्लेख भएको बुँदा नम्वर ७ मा गरुड र छायाँश्वरीको चुक्ता गर्नु पर्ने दायित्व एकीकरण पश्चात एकीकृत संस्था गरुडले दायित्व बहनको जिम्मेवारी रहने उल्लेख छ । त्यो बुँदा नहुँदा पनि ब्यवस्थापक भनिएका राजिव कुनै कारोवारमा संलग्न थिएनन । विक्रमप्रसाद पाण्डेय रजिस्ट्रारद्वारा जारी गरिएको पत्रमा दुबै संस्थाका नाममा भएका कारोवारलाई गरुडका नाममा एकीकृत गर्ने उल्लेख छ । गरुड सहकारी र छायाँश्वरी सहकारीको समेत गरेर बासुदेव खड्का आफैले विभिन्न ब्यक्तिका नाममा विना धितो १८ करोड ६२ लाख ५२ हजार रकम अपचलन गरेका छन् । बचकर्ताहरुलाई २५ करोड भन्दा धेरै फिर्ता दिन बाँकी छ । 

-चेष्टा साप्ताहिकबाट


प्रतिक्रिया



थप समाचारहरु