धुलिखेल- काठमाडौं विश्वविद्यालयले तत्काल अनलाइन पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि ‘जेन जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिमाझ विद्यार्थीहरूको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै विश्वविद्यालयले छठपछि मात्र पठनपाठन सूचारू गर्ने निर्णय गरेको थियो । तर, नयाँ सरकार निर्माण भएसँगै परिस्थिति सामान्य भइसकेकाले चालु शैक्षिक वर्षको क्यालेन्डर प्रभावित नहोस् भन्ने उद्देश्यले विश्वविद्यालयले तत्काल लागू हुने गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । दशैं र तिहारबीचको समयमा समेत अनलाइन पठनपाठन सञ्चालन हुने भएको हो ।
यसका लागि विश्वविद्यालयले सम्पूर्ण स्कुलका डीनहरूलाई आवश्यकताअनुसार अनलाइन कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । स्कुलहरूले आफ्ना मातहतका विभागहरूसँग समन्वय गरी अनलाइन कक्षा सञ्चालन गर्न सक्नेछन् ।
छठपछि भने पूर्वनिर्धारित तालिकाअनुसार नै भौतिक रूपमा कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ।
यसैबीच, पछिल्ला राजनीतिक घटनाक्रमका कारण विद्यार्थीमाझ परेको मनोवैज्ञानिक प्रभावलाई सम्बोधन गर्न विश्वविद्यालयले मनोपरामर्श सेवाको व्यवस्था समेत गरेको छ । विद्यार्थीहरूले आफ्नो स्कुलको डीन कार्यालयमार्फत समय लिई विश्वविद्यालयले तोकेका मनोविद्सँग इमेल वा फोनमार्फत सेवा लिन सक्नेछन् ।