पनौती-काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा चैत २१ गतेदेखी २०८२ वैशाख ३ गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सव पनौती-७ कुशादेवी मार्गमा हुनेछ । पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।
महोत्सवबारे जानकारी दिन आज पनौतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले महोत्सवमा कृषि, घरेलु सामाग्री लगायतका ६० भन्दा बढी व्यापारिक स्टल रहने वताए । पनौतीका सबै वडाका लागि एक एक वटा स्टल निशुल्क उपलब्ध गराइने ढुंगानाको भनाई छ । महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनुका साथै प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममाजिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइने आयोजकको भनाई छ । अन्य महोत्सवमा बाल उद्यान तथा मनोरञ्जनात्मक खेलका लागि भारतीय समूह संलग्न हुने गरेकोमा यो महोत्सवमा सबै कार्य नेपालीले नै गर्ने ढुंगानाले वताए । हिरादेखी जिरासम्म र सुनदेखी नुनसम्म महित्सवमा पाइने आयोजकको भनाई छ ।
महोत्सव पनौती उद्योग वाणिज्य संघसँगको सहकार्यमा अयोजना गर्न लागिएको हो भने व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ । महोत्सवको संरक्षकमा पनौती वडा नं. ७ को कार्यालय रहनेछ । महोत्सवमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई प्रवेश निशुल्क हुनेछ भने अन्यका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट उपलब्ध हुनेछ ।
पत्रकार सम्मेलनमा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले पनौतीको प्रचार र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय काम हुन नसकेको अवस्थामा यो महोत्सवले पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानीय उत्पादनलाई प्राथमिकता दिइने वताउँदै थापाले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएकाले यसपटकका कमी कमजोरीलाई सुधार्दै आगामी दिनमा यसलाई निरन्तरता दिने वताए ।
यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले पनौतीको चहलपहल बाह्र बर्षे मकर मेलाको समयमा मात्रै हुने गरेकोमा यस्ता महोत्सवले पनौतीमा आर्थिक चहलपहल बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न भूमिका खेल्ने वताए । उनले महोत्सवमा स्थानीय उत्पादन र स्थानिय कला, बाजागाजाको प्रवर्द्धन गर्नुपर्ने वताए । वडा नं ७ का अध्यक्ष सविन ताम्राकारले पनौतीको कला सम्पदाको प्रचारमा महोत्सवले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।