काभ्रे–अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
आज बिहान सिरहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नंवरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नंवरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।
खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भएको छ ।