पाँचखाल वृहत् खानेपानी : ९३ प्रतिशत काम सकियो


मेचीकाली

पाँचखाल–काभ्रेको पाँचखालबासीको सपना बनेको पाँचखाल वृहत् खानेपानी आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको छ । आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भएकाले अबको चार महिनाभित्र पाँचखालका करिब साढे ३१ हजार नागरिकले स्वच्छ खानेपानीको उपभोग गर्न पाउने भएका छन् । 

पाँचखाल बृहत खानेपानी आयोजनाका व्यवस्थापक इन्द्रमानसिं बस्नेतका अनुसार पाँचखालमा निर्माणाधिन पाँचखाल बृहत खानेपानी आयोजनाको भौतिकतर्फ ९३ दशमलव ३ प्रतिशत सम्पन्न भएको छ । उहाँले हालसम्म करिब ९० प्रतिशत आर्थिक प्रगति भएको बताउनुभयो । ई. बस्नेतले आयोजना अन्र्तगत हालसम्म सुनकोशी नदि किनारमा छ वटा इनार, चार÷चार लाख लिटर क्षमताको दुई वटा पानी सङ्कलन गर्ने ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश वटा नयाँ वितरण ट्याङ्की, छ वटा ब्रेक प्रेशर ट्याङ्की, १५ वटा पाले घर निर्माण सम्पन्न भएको बताउनुभयो । यस्तै पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, २३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म २१३ किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको छ । 

कुल छ हजार ३७ धाराहरुमध्ये हालसम्म तीन हजार दुई सय वटा धारा जडान, उपभोक्ता समितिको भवन, पानी प्रशोधन केन्द्रका सबै काम सम्पन्न भई पानी छान्नको लागि वालुवा तथा गिट्टी हाल्ने काम भईरहेको वस्नेतले बताउनुभयो । आयोजनाको लागि २४ वटा पानी तान्ने पम्प जडान, सात वटा बिजुलीको ट्रान्सफर्मरमध्ये पाँच वटा जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइनको काम सम्पन्न भईसकेको छ । उहाँले आयोजनाको बाँकी कामहरु तीनदेखि चार महिनाभित्र सम्पन्न हुने बताउनुभयो ।

वि.सं. २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७७ असार १५ गते आयोजनाको सम्झौता भएको थियो । कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण तथा आर्थिक मन्दिका कारण समयमा नै सामान नपाउने अवस्था आएपछि पहिलो पटक दशमहिना र दोस्रो पटक चार महिना गरी १४ महिनाको समय थप गरिएको छ ।  दुई पटक थपिएको समयमा आयोजनाको सबै काम पुरा नहुने अवस्था देखिएपछि आयोजनाले केहि दिन अघि आगामी असार मसान्तसम्मको लागि तेस्रो पटक म्याद थप गर्न निवेदन दिएको व्यवस्थापक बस्नेतले बताउनुभयो ।

एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपियाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाका वडा नम्बर २, ३,४,६,७,८,९,१०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार ४१५ नागरिक र सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेछन् । आयोजनाले प्रति सेकेन्ड ८४ लिटरका दरले दैनिक २० घन्टा पानी लिफ्ट गरेर तान्नेछ । 


प्रतिक्रिया



थप समाचारहरु