वित्तीय अपराधका मुद्दा बढ्दो क्रममा छन्– एआइजी भण्डारी


मेचीकाली

काभ्रेपलाञ्चोक– नेपाल प्रहरीका प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले पछिल्लो समय नेपाल प्रहरीमा आउने अपराधिक मुद्दामा करिब ७० प्रतिशत मुद्दा वित्तिय क्षेत्रसँग सम्बन्धित हुने गरेको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको कार्य दक्षता मूल्याङ्कन निरीक्षणपछि आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले प्रहरीकोमा वित्तीय अपराधका मुद्दा बढ्दो क्रममा रहेको बताउनु भएको हो । ‘विगतमा प्रहरीकोमा करिब २० प्रतिशत मात्रै वित्तीय अपराधसँग सम्बन्धित मुद्दा आउने गरेको थियो पछिल्लो केही वर्षदेखि प्रहरीमा आउने अपराधिक मुद्दामा ७०–८० प्रतिशत अपराध वित्तीयसँग सम्बन्धित छ, साथै साइबर क्राइम, सामाजिक सञ्जालका अपराध समेत धेरै बढेको छ’ एआईजी भण्डारीले थप्नुभयो । उहाँले प्रहरी समयानुकुल परिमार्जन भई प्रविधिलाई अङ्गाल्दै अपराध अनुसन्धानका काममा खटिनुपर्ने अवस्था आएको बताउनुभयो । एआईजी भण्डारीले समयसँग प्रहरीले आफुलाई समय अनुसार परिमार्जन गर्दै प्रहरीभित्र शुद्धिकरण तथा सुदृढिकरणका लागि अभियान चलाएपनि नागरिकमा भने विगतमा जस्तै व्यवहार गर्ने तथा दृष्टिकोण भने परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
अन्र्तक्रिया कार्यक्रममा एआईजी भण्डारीले चाडवाडको समयमा हुन सक्ने चोरीलगायतका घटना हुन नदिन प्रहरीलाई आफ्नो स्रोत साधनलाई उच्चतम रुपमा प्रयोग गरी शान्ति, सुरक्षा कायम गराउन निर्देशन दिनुभयो । उहाँले ट्रिपर तथा अन्य सवारीको प्रेसर गर्न न्यूनिकरणका लागि प्रेसर हर्न हटाउने, नियमानुसार निर्माण सामाग्री बोके, नबोकेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम सुरु गरेको बताउँदै ढुक्क र सुरक्षित भएर चाडपर्व मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मञ्जुकुमार कोजुले रातको समयमा गुड्ने टिपरले बजाउने प्रेसर हर्नका कारण नागरिकले सुत्न पाउने अवस्था नरहेको बताउनुभयो । उहाँले चाडपर्वको समयमा हुने चोरी, डकैतीका घटना न्यूनिकरणका लागि प्रहरीले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्षेत्रिय होटल संघ धुलिखेलकी सचिव ज्योत्सना सैँजुले टिपरले बजाउने प्रेसर हर्नका कारण विदेशी पर्यटकले होटलको बुकिङ रद्द गरेको बताउनुभयो । उहाँले टिपरले प्रेसर हर्न बजाएको उजुरी गरेको दिनमा झन बढी प्रेसर हर्न बजाउने गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले अभिभावकले आफ्ना बालबालिकालाई केही भन्न नसक्ने अवस्था आएको बताउँदै प्रहरीले बिद्यालयमा पुगेर बिद्यार्थीहरुलाई जनचतेना जगाउने काम सुरु गर्नुपर्ने बताउनुभयो । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता सरसफाई उपभोत्ता समतिका सचिव श्याम दर्शन गणेँजुले प्रहरीले बिदालयस्तरमा पुगेर लागु औषध, यौन दुव्र्यवहार, चोरीलगायतका विषयमा सचेतना कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा धुलिखेल नगरपाकिलाका उपप्रमुख निराजन जंगम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, महिला अधिकारकर्मी निर्मला काफ्ले, अधिवक्ता कृष्णप्यारी नकर्मीलगायतले प्रहरी समयानुकुल परिमार्जन गर्दै नागरिकहरुलाई सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणा, नेपाल प्रहरीका केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख डिआईजी यज्ञ विनोद पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने काममा प्रहरीले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु