सन् २०५१ सम्ममा काभ्रेको जनसङ्ख्या झण्डै ६२ हजार घट्ने


विनोदकुमार न्यौपाने

धुलिखेल–काभ्रेपलाञ्चोक जिल्लामा सन् २०२१ देखि सन् २०५१ सम्म पुग्दा हाल भएको जनसङ्ख्यामा साढे ६१ हजार जनसङ्ख्या घट्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को हालै सार्वजनिक भएको पाँच वटा विषयको प्रतिवेदनले सन् २०५१ सम्म काभ्रेपलाञ्चोक जिल्लामा सन् २०२१ को जनसङ्ख्यामा ६१ हजार ५९७ जनसङ्ख्या घट्ने प्रक्षेपण गरिएको हो । 

प्रकाशित प्रतिवेदन अनुसार जनगणना २०७८ (सन् २०२१) मा जिल्लाको जनसङ्ख्या तीन लाख ६५ हजार ९९३ रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको प्रक्षेपण अनुसार सन् २०२६ मा जिल्लाको जनसङ्ख्या घटेर तीन लाख ५५ हजार ७६ जना, सन् २०३१ मा तीन लाख ४३ हजार ९८३, सन् २०३६ मा तीन लाख ३३ हजार ९६० जना रहने अनुमान गरिएको छ । यस्तै सन् २०४१ मा जनसङ्ख्या घटेर तीन लाख २४ हजार ६१९ जना, सन् २०४६ मा जिल्लाको जनसङ्ख्या तीन लाख १५ हजार १९६ र सन् २०५१ मा जिल्लाको कुल जनसङ्ख्या तीन लाख चार हजार ३९६ पुग्ने अनुमान गरिएको छ । कार्यालयले गरेको प्रक्षेपण अनुसार १घ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक नगरी बनेपा र धुलिखेलमा जनसङ्ख्या बढ्ने र अन्य ११ वटा स्थानीय तहमा घट्ने देखाएको छ । प्रक्षेपण अनुसार सन् २०२१ मा ६८ हजार ८४ जनसङ्ख्या रहेको बनेपामा सन् २०५१ सम्म पुग्दा ८० हजार ११८ जना रहने तथा सन् २०२१ मा ३३ हजार ९१८ जनसङ्ख्या रहेको धुलिखेलमा सन् २०५१ मा पुग्दा ३८ हजार १११ पुग्ने प्रक्षेपण गरिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको जनसङ्ख्याको प्रक्षेपण अनुसार जिल्लाको चौरीदेउराली गाउँपालिकामा सन् २०२१ मा १४ हजार १०५ जनसङ्ख्या रहेकोमा सन् २०५१ सम्म पुग्दा पाँच हजार ३४६, भुम्लु गाउँपालिकामा १५ हजार ७४४ जनसङ्ख्या घटेर सन् २०५१ मा पाँच हजार ९६२ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै मण्डनदेउपुर नगरपालिकामा ३० हजार ५४९ बाट घटेर २८ हजार ७७७ जना, पाँचखाल नगरपालिकामा ३५ हजार ७०३ जनसङ्ख्या केही वर्ष बढेर सन् २०४१ बाट घटेर सन् २०५१ मा पुग्दा ३४ हजार ६८२ पुग्ने प्रतिवेदनमा उल्लेख छ । जिल्लाको तेमाल गाउँपालिकामा १७ हजार ३३ बाट घटेर पाँच हजार ३३६ जना, नमोबुद्ध नगरपालिकामा २६ हजार २८७ बाट घटेर २३ हजार ५२४ जना, पनौती नगरपालिकामा ५१ हजार ७५७ बाट केही घटेर ५० हजार ७७८ जना हुने अनुमान गरिएको हो । त्यसैगरी सन् २०२१ मा १५ हजार ५२ जनासङ्ख्या रहेको जिल्लाको बेथानचोक गाउँपालिकामा सन् २०५१ सम्मपुग्दा घटेर पाँच हजार ८७८ हुने, रोसी गाउँपालिकामा २३ हजार ९१६ बाट घटेर आठ हजार ७२६ कायम हुने प्रक्षेपण गरिएको छ । 

महाभारत गाउँपालिकामा सन् २०२१ मा १६ हजार १८७ जनाबाट सन् २०५१ मा पुग्दा छ हजार ५३२ जना र खानीखोला गाउँपालिकामा १२ हजार ३०४ जनसङ्ख्याबाट घटेर सन् २०५१ मा पुग्दा पाँच हजार पाँच हजार ३४८ जना हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण गरिएको छ । कार्यालयले यसअघि गरेको जनगणनामा २० वर्षको जनसङ्ख्या प्रक्षेपण गर्दै आएपनि यस पटक (२०७८) मा ३० वर्षको जनसङ्ख्या प्रक्षेपण गरेको कार्यालयका तथ्याङ्क अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो । उहाँले यसअघि जिल्ला तहसम्मको जनसङ्ख्याको प्रक्षेपण गरेकोमा यस पटक भने जिल्ला तह, स्थानीय तहका साथै वडा तहसम्मको जनसङ्ख्याको प्रक्षेपण गरिएको बताउनुभयो । कार्यालयले प्रजनन स्थिती, बसाईसराई, मृत्युदरको आधारमा जनसङ्ख्याको प्रक्षेपण गर्दै आएको छ । 

प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा