काभ्रे–बागमति प्रदेश सरकारले एक वर्षको अवधीमा जिल्लाका ग्रामीण क्षेत्रलाई जोड्ने १४ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा बागमती प्रदेश सरकारको लगानीमा काभ्रेपलाञ्चोक जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने १४ किलोमिटर सडक कालोपत्रे भएको हो । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लामा गरी २१ किलोकिलोमिटर सडक कालोपत्रे गरेको छ ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठका अनुसार काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित छेडा–कुर्थली–सलम्बु– काफ्ले–चौरीखोला साढे पाँच किलोमिटर सडक, पाँचखाल–बोहोरेदोभान सडक तीन किलोमिटर, दाप्चा पिपलटार–फलामेसाँघु दुई दशमलव एक किलोमिटर, शङ्खु–दाहालटार–गहते–नेपानेटार–खाक्सी सडक दुई किलोमिटर र महाभारतको तीनखुट्टे–देविटार सडकको एक किलामिटर सडक खण्ड कालोपत्रे गरिएको छ । कार्यालयको सेवा क्षेत्र रहेको भक्तपुरमा पेप्सीकोला–मनोहरापुल–बोडे निलबाराही–तेलकोट सडक चार दशमलव ७ किलोमिटर र भक्तपुर–कौशलटार–विरुवा सडक दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो अवधीमा कार्यालयले काभ्रेपलाञ्चोक र भक्तपुरमा गरेर १८ कलिोमिटर सडकको नयाँ ट्रयाक निर्माण, १९ किलोमिटर ग्राभेलस्तरमा सडक स्तरोन्नती, नौ दशमलव ६७ किलोमिटर सडक ढलानस्तरमा स्तरोन्नती गरिएको छ ।त्यस्तै ६५ किलोमिटर सडकमा टेवा पर्खाल, ग्याविन जाली, ढुङ्गा सोलिङ गर्ने, नाली निर्माणलगायतको कच्ची सडक स्तरोन्नती, सडक हेरालुमार्फत ४४ किलोमिटर सडक नियमित मर्मत सम्भार, आठ वटा सडक पुल र दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बहुवर्षीय स्वीकृत प्रादेशिक सडक पुल अन्र्तगत लिलावती खोला आरुचार काफलडाँडा पुरानो भोटेगाउँहुँदै रानीकोट सडकमा ढडिन पुल, गैरिबिसौना सालठाटी जोड्ने चाखोला पुल, डाँफेखोला वालुवा तीनपिप्ले जोड्ने पुल, च्याल्टीखोला पुल निर्माण, लिलावतीखोला पाटीचौर पुल निर्माण, भैँसेपाटी सडकमा पर्ने घट्टेखोला पुल बनेपा १२ र भाजु भैरव सडक पुल भक्तपुरको सडक पुल र सङ्घीय सशर्त अनुदान अन्र्तगत मण्डनदेउपुर नगरपालिका–९ र १० जोड्ने टोड्केखोला सडक पुल निर्माण सम्पन्न भएको हो ।
यसैगरी वहुवर्षीय स्वीकृत प्रादेशिक झोलुङ्गेपुलहरुमध्ये बेथानचोक गाउँपालिका–५ मा रहेको भाङ्गला टाँकीडोल (लड्कुखोला) झोलुङ्गे पुल, मण्डनदेउपुर नगरपालिका–१० मा रहेको हल्देटार सुकुटे बागाहा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।