बनेपा–बनेपा पासा पुचःले २०८१ सालको एसईई परिक्षामा बनेपा नगरभित्रबाट सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आफ्नो ३५ औं स्थापना दिवसको अवसर पारेर एसईईमा ४ जिपिए प्राप्त गर्ने विकटेश्वर स्कुलकी जिया खत्री र ग्रेसल्याण्ड स्कुलकी प्रकृति दुवाललाई सम्मान गरिएको हो ।
बनेपामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याव्सन काभ्रेका अध्यक्ष श्याम भुजेल र बनेपा पासा पुचःका अध्यक्ष बिक्रम प्रजापतिले उनीहरुलाई सम्मान गरेका थिए । यस्तै दुबै विद्यालयका शिक्षकलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।
आजाद मावि बनेपामा २०४८ सालमा एसएलसी दिने विद्यार्थीहरु मिलेर गठन गरिएको बनेपा पासा पुचःले बर्षेनी बनेपा नगरभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्दै आएको अध्यक्ष बिक्रम प्रजापतिले बताए । उनका अनुसार विद्यार्थी सम्मानका साथै हाजिरिजवाफ, वक्तृत्वकला प्रतियोगिताका साथै अन्य सामाजिक कामसमेत समूहले गर्दै आइरहेको छ । विगतमा मासिकहरुपमा हवाई पत्रिकासमेत प्रकाशन गरेको समूहले आगामी दिनमा त्यसलाई निरन्तरतासमेत दिने अध्यक्ष प्रजापतिले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले बनेपा पासा पुचःले आपसी सद्भाव र सामूहिक भावना बढाउँदै समाजका लागि गरेको योगदान सह्रानीय रहेको बताए । अहिले मुलुकमा जटिल परिस्थिति आइरहँदा आपसी एकता र सामूहिकताको महत्व झनै बढेको उनले बताए । न्यौपानेले आफुले संस्थाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पासा पुचःका सुमन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।