यातायात कार्यालय काभ्रे: कर्मचारी नहुँदा सवारी जाँचपास सुरु हुन सकेन


मेचीकाली

काभ्रे– काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालयले आफ्नो काम सुरु गरेको एक महिना नाघिसकेको छ । असार १६ गतेदेखि आफ्नो काम सुरु गरेको कार्यालयले एक महिना वितिसक्दा पनि सवारी जाँचपासको काम भने अझै सुरु गर्न सकेको छैन ।

बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) कर्मचारी खटाउन नसकेका कारण कार्यालयले प्राविधिक काम सुरु गर्न नसकेको हो । यातायात व्यवस्था कार्यालय बनेपाका सूचना अधिकारी पवन बजगाँईले कार्यालयबाट तत्कालका लागि सवारी साधनको ब्लुबुक नविकरण, सवारी कर, रुटपरमिट जारी तथा नविकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम भइरहेको जानकारी दिएका छन् । मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदुषण जाँच, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम सुरु गर्न नसकिएको उनको भनाई छ । मन्त्रालयबाट पाँचौ÷छैटौँ तहको प्राविधिक कर्मचारी खटाएपछि तत्कालै सवारी दर्ता, नामसारी, प्रदुषण जाँचलगायतको सेवा सुरु हुने बजगाईंको भनाई छ । कार्यालयले अहिलेसम्म लाइसेन्स नविकरणसमेत अघि बढाउन सकेको छैन । लाइसेन्स नविकरण भने भदौको पहिलो सातादेखि सुरु गर्ने तयारी भएको छ । 

कार्यालयले असोज महिनादेखि ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ वर्गको सवारी चालक अनुमति पत्र प्रदान गर्ने लक्ष्य र योजनाका साथ काम अघि बढाएको छ । गत असार १५ गते यातायात व्यवस्था कार्यालय बनेपा स्थापना गरी असार १६ गतेबाट यातायात सम्बन्धी सेवा प्रवाह सुरु गरिएको थियो । 

स्थापना भएको एक महिनाको अवधिमा कार्यालयबाट तीन हजार २१ वटा सवारी साधनको ब्लुबुक नविकरण, सवारी कर, रुटपरमिट जारी तथा नविकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एक महिनाको अवधिमा दुई करोड १८ लाख ३७ हजार ७८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयमा रुट परिमिटका लागि दैनिक औषत पाँच वटा सवारी, ब्लुबुक नविकरण÷सवारी कर बुझाउन दैनिक सरदर एक सय र दैनिक राजस्व करिब १५ लाख रुपियाँ सङ्कलन हुने गरेको छ । बनेपामा स्थापना गरिएको कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीका केही र भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने