केयूद्धारा योग तथा प्राकृतिक चिकित्सालय सुरु


मेचीकाली

काभ्रेपलाञ्चोक– नयाँ विषयको अध्ययन, अध्यापनमा गराउने अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिएको काठमाडौँ विश्वविद्यालय (केयू)ले नवौँ अन्र्तराष्ट्रिय योग दिवसको अवसर पारेर योग तथा प्राकृतिक चिकित्सालय सुरु गरेको छ । चिकित्सालयको एक कार्यक्रमकाबीच बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्तेले समुद्घाटन गर्नुभएको छ । विश्वविद्यालयले पनौती नगरपालिका–५ चौकोटमा बुधबारदेखि चिकित्सालय सञ्चालनमा ल्याएको हो । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा सेवा प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । चिकित्सालयको उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले नेपाल आयुर्वेदमा धनी मूलुक भएपनि योग विज्ञान र प्राकृतिक चिकित्सालयको क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले नेपालमा उपचार पद्दती धेरै महङ्गो भएको बताउँदै उपचार पद्दती महङ्गो भएकै कारण नागरिकहरुले उपचार गराउन सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले मानिसलाई बिरामी नहुनका लागि योग विज्ञान तथा प्राकृतिक चिकित्सा एउटा माध्यम हुने भएकोले आम नागरिक आफु स्वस्थ हुन दैनिक एक घण्टा आफ्नो लागि समय निकालेर व्यायाम गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौा विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने दक्षिण एसियाको राम्रो संस्थाको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले योग तथा प्राकृतिक चिकित्सालय सुरु गरेसँगै विश्वविद्यालयले अन्तर्राष्ट्रियकरणका लागि अर्को एउटा पाइला अघि बढाएको बताउनुभयो । उहाँले पूर्वीय दर्शनको स्वास्थ्य पद्धतिका आधारमा योग तथा प्राकृतिक चिकित्साको प्राज्ञिक उन्नयनका साथै प्राप्त शिक्षालाई प्रयोगात्मक एवं अनुसन्धानात्मक रूपमा अध्यापन गराउन प्राकृतिक चिकित्सालयले अहम् भूमिका खेल्ने दावी गर्नुभयो । काठमाडौँ विश्वविद्यालयले योग तथा प्राकृतिक चिकित्सा विधामा औपचारिक रूपमा नै प्रवेश गरिसकेको बताउनुभयो । उपकुलपति डा. थापाले केयूले एलोपेथिक उपचार पद्धति सँगसँगै अन्य उपचार पद्धतिलाई पनि अघि बढाएर मानवको हितमा उपयोग गराउन हामीले विश्वविद्यालयबाट औपचारिक अध्ययन–अध्यापनको प्रारम्भ गरेको बताउनुभयो ।
चिकित्सा पद्धतिहरूलाई विदेशमा लैजानुपर्ने आवश्यकता रहेकोले विश्वका विभिन्न देशहरूबाट आयुर्वेद चिकित्सा, जडिबुटी चिकित्सा, प्राकृतिक चिकित्सा र योग जस्ता विधामा अध्ययन–अध्यापन र अनुसन्धान गराउन नेपालमा विद्यार्थीहरू ल्याउने विश्वविद्यालयको योजना रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयले बुद्धिस्ट स्टडिज विषयको अध्यापन सुरु गरेपछि विश्वका विभिन्न मुलुकबाट त्यस विषयको अध्ययन गर्न नेपालमा आएझैँ योग तथा प्राकृतिक चिकित्सा विषयले पनि विश्वमा राम्रो प्रभाव छाड्ने दावी गर्नुभयो । उहाँले योग शिक्षा मार्फत पशुपति र तिरुपतिलाई जोड्न हामीले गत वर्ष तत्कालीन माननीय शिक्षामन्त्रीको उपस्थितिमा तिरुपति स्थित भारतीय संस्थासँग सम्झौता समेत भएको बताउनुभयो ।









प्रतिक्रिया



थप समाचारहरु